एउटा छोरो अष्ट्रेलियामा, अर्को अमेरिकामा ! रामचन्द्र अधिकारी अर्थात ‘गोक्ते काजी’ को कथा !

१४ माघ २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – दर्जनौं चलचित्रमा काम गरेका कलाकार रामचन्द्र अधिकारी यतिबेला चलचित्रमा भन्दा बढी सिरियलमा व्यस्त छन् । उनले अभिनय गरेको टेलीसिरियल ‘मेरी बास्सै’ र ‘रिसानी माफ’ प्रशारण भइरहेका छन् । दुबैमा उनको महत्वपूर्ण भूमिका छ । मेरी बास्सैमा उनी ‘गोक्त्ते काजी’ बनेका छन् भने रिसानी माफमा ‘नरसिंहे’ को भूमिकामा छन् ।

मेरी बास्सैको गोक्ते काजीले आफ्नो सिरियल जीवनको पुनर्जन्म भएको रामचन्द्र बताउँछन् । उनी भन्छन्, ‘सिरियलमा मेरी बास्सैबाट मेरो पुनर्जन्म नै भएको हो । अहिले मलाई जहाँ गए पनि काजी साप भन्नुहुन्छ । मेरी बास्सैबाट चिन्ने दर्शक धेरै हुनुहुन्छ ।’ ‘काजी साहेब’ बाट परिचित रामचन्द्र अधिकारीको जीवनका उतार-चढावबारे अनलाइनखबरले कुराकानीका आधारमा यो सामाग्री तयार पारेको छ ।

कलाकार बन्नुपूर्वको संघर्ष

काठमाडौंको गोठाटारमा जन्मिएका रामचन्द्रले १० वर्षको उमेरदेखि नै काम गर्न सुरु गरे । जब उनी १० वर्षका भए, त्यसबेला उनलाई परिवारले अर्काको घरमा काम गर्न राखिदिएका थिए । उनी भन्छन्, ‘बाबाले मलाई आर्मी अफिसरको घरमा काम गर्न राखिदिनु भएको थियो । त्यहाँ निकै दुखः भएपछि भागे ।’ उनले त्यहाँ काम गरेको पैसा पनि नलिइकन भागेका थिए ।

मेरीबास्सैमा ‘गोक्तेकाजी’ को नामबाट चर्चित रामचन्द्र अधिकारीले बोल्ने डाइलग उनको निजी जीवनमा पनि झण्डै मिल्छ । उनका माइला छोरा अष्ट्रेलियामा छन् भने कान्छा अमेरिकामा । छोरी पनि अष्ट्रेलियामै छिन् । जेठा छोराचाहिँ चलचित्र विकास बोर्डमा कार्यरत छन् । त्यहाँबाट भागेका रामचन्द्र हेटौडा पुगे । त्यहाँ राणाको बङ्गलामा उनले नोकरी पाए । त्यसमा उनी इमान्दारिताको साथ काम गरिरहेका थिए । एक दिन त्यहाँ आएका पाहुनाले उनलाई बनारस लगेर पढाउने र जागीर पनि लगाइदिने आश्वासन दिए । राणाकोमा काम गरेको पैसा पनि नलिइ उनी त्यहाँबाट हिँडे ।

बनारसमा नेपालीकै घरमा काम पाए । त्यहाँ पुगेर पनि उनले पढ्ने अवसर भने पाएनन् । ७ महिना त्यहाँ बसेर उनी ती नेपालीसँगै सर्लाही फर्किए । नेपाल फर्किएपछि उनी वनारस गएनन् । त्यहाँ काम गरेको पनि पैसा पाएनन् ।

सर्लाहीबाट उनी एक्लै हिँडे । हिँड्दै जाँदा उनी महेन्द्र राजमार्गमा आइपुगे, जहाँ धमाधम काम भइरहेको थियो । रामचन्द्रले त्यहाँ काम मागे र पाए पनि । उनी भन्छन्, ‘साँझ साझमा त्यहाँ आइपुगेको थिए । उहाँहरुले खाना खान दिनुभयो र काम पनि दिनुभयो ।’

चार दिन भारी बोक्ने काम गरेपछि उनले त्यो पनि छोडे । उनका छिमेकी दाजु त्यहाँ गाडी चालक थिए । तिनै दाइले उनलाई एक इन्जिनियरको सहयागी बनाइदिए ।

लगभग एक वर्ष इन्जिनियरसँग काम गरेपछि उनी घर फर्किए । दुई वर्षमा घर फर्किएका उनले १ हजार रुपैया लगेर परिवारलाई दिए । उनी सम्झिन्छन्, ‘म दुई वर्षपछि घर पुगेको थिएँ । त्यसपछि बाबाले मलाई जान दिनुभएन ।’

घर फर्किएर उनी आफ्नो ठुलोबुबाको भैंसी चराउने काममा लागे । लगभग २ वर्ष भैसी चराएपछि उनी त्यो छोडेर चिनजानको दाईमार्फत सिंह दरवारभित्र स्टोर रुममा काम थाले । त्यहाँ काम गर्दा उनको एक कमिज च्यातियो । ‘त्यहाँ सामान झिक्ने राख्ने गर्दा मेरो नयाँ कमिज च्यातियो’, उनी भन्छन्, ‘कमिज च्यातिएपछि म रुदै त्यहाँबाट काम छोडेर निस्किएँ ।’

त्यहाँ काम छोडेपछि उनले बल्ल टेलिकममा काम पाएका थिए । अहिले पनि उनी टेलिकमबाट पेन्सन खाइरहेका छन् ।

कलाकारितामा आरोह अवरोध

रामचन्द्र ०३० सालतिर नेपाल टेलिकमका स्थायी जागिरे थिए । अफिस थियो जोरपाटीमा । गोठाटारमा बस्ने उनी हिँडेरै जोरपाटीसम्म पुग्थे । उनी सम्झन्छन्, ‘म गोठाटार गाउँबाट जोरपाटीसम्म हिँडेरै पुग्थे । त्योबेला यस्तो सजिलो मोटरबाटो कहाँ थियो र !’

बौद्ध हुँदै बाग्मती खोला तरेर उनी अफिस पुग्थे । लगातार ६ वर्ष उनले त्यही बाटोमा पाइला नापे । हिँड्दै गर्दा वरिपरिका व्यक्तिहरुले उनलाई चिन्थे । एकदिन बाटो हिँडिरहेका बेला परीक्षित ढुंगानाले बोलाए । परीक्षितले उनलाई आफूहरुले नाटक गर्न लागेको र त्यसमा खेल्न अफर गरे । रामचन्द्रले ‘हुन्छ’ भनिदिए ।

जोरपाटी युवा क्लब र बौद्ध युवा क्लबले मिलेर भैरव अर्यालको ‘सच्चा प्रेम’ नामक नाटक मञ्चन गर्ने तयारी गरिरहेको थियो । त्यसमा रामचन्द्रले हिरोइनको काका बन्नुपर्ने भयो । उनले २४ वर्षको उमेरमा नै काका बनेर खेल्नुपर्‍यो ।

‘मेरो दारी झ्याप्प आइसकेको थियो । त्यसैले होला, उहाँहरुले काका बनाइदिनुभयो ।’ रामचन्द्र सम्झन्छन् ।

‘सच्चा प्रेम’ नाटक निकै सफल भयो । त्यसमा पनि उनले गरेको अभिनयले सबैको मन जित्यो । निर्देशक परिच्छेद पनि प्रभावित भए । उनले कलाकारहरुको समूह ‘श्री समूह’ मा रामचन्द्रलाई जोडिदिए । समूहको अध्यक्ष थिए, नीर शाह ।

रामचन्द्र भन्छन्, ‘त्यो समूहमा पुग्दा मलाई त अर्कै संसारमा पुगेको जस्तो लाग्यो । सबै रेडियोमा आवाज सुनेका कलाकारहरु मेरो अगाडि हुनुन्थ्यो । म गदगद भएको थिएँ ।’

कृष्ण मल्ल, शर्मिला मल्ल, रवि खड्का, लय संग्रौला, चन्द्रमाला शर्मा लगायतका कलाकार त्यहाँ थिए । हरिप्रसाद रिमालले सिकाइरहेको नाटक ‘अध्यारो उज्यालो’ मा पनि उनले सानो भूमिका पाए । उक्त नाटकको रिहर्सलमा पनि उनले सबैबाट प्रशंसा पाए ।

शालीन स्वाभावका रामचन्द्र हरेक कामका लागि अगाडि सरिहाल्थे । उनले नाटकको रिहर्सलको बेला पनि सबै कलाकारका लागि खाजा ल्याइदिनेदेखि हरेक काममा सघाउँथे । सबैले उनको मेहनतको प्रशंसा पनि गर्थे ।

‘उहाँहरु जस्तोको सेवा गर्नु त मेरा लागि भाग्यको कुरा जस्तो लाग्थ्यो,’ उनी भन्छन्, ‘त्यसैले हरेक काम आफैँ गर्न सुरिन्थे ।’ यही बानीले रामचन्द्र सबैको पि्रय बने । कृष्ण मल्लले उनलाई त्यस समुहको आजीवन सदस्य बनाइदिए ।

‘अँध्यारो उज्यालो’ नाटक निकै सफल भयो । त्यस समयमा उक्त नाटक लगातार ३१ दिनसम्म चलेको थियो । उक्त नाटक नारायणघाट, चितवन, विराटनगर, धरान, धनकुटा लगायतका ठाउँहरुमा देखाइयो । पोखराको मयुर थिएटरमा पनि उनले नाटक गर्ने अवसर पाए ।

रामचन्द्रले नाटकमा लागेपछि टेलिकमको जागिरलाई नाइट सिफ्टमा सारेका थिए । उनी रातभर टेलिकममा काम गर्थे भने दिनभर नाटकमा । उनी भन्छन्, ‘राती टेलिकममा काम गर्थे । अनि दिनभर नाटकमा । तर, पनि खुसी नै थिए म ।’

‘अँध्यारो उज्यालो’ नाटक राम्रो भएपछि श्री समुहबाट चलचित्र निर्माण हुने कुरा आयो । चलचित्रको नाम ‘वासुदेव’ राखियो । निर्देशक थिए समूहका अध्यक्ष नीर शाह । रामचन्द्रले पनि उक्त चलचित्रमा एक दृश्य अभिनय गर्ने अवसर पाए । उनी भन्छन्, ‘वासुदेव चलचित्रमा एक सीन पाएको थिए । तर, त्यो सिनले चलचित्रको कथामा ठूलो अर्थ राख्थ्यो ।’

रामचन्द्र आफूले निर्वाह गरेको पहिलो चलचित्रको भूमिका कहिल्यै बिर्सिन सक्दैनन् । चलचित्रमा उनी लेखापाल बनेका थिए ।

उनी भन्छन्, ‘मैले गुण्डाको सपोर्ट लिएर पि्रन्सिपललाई एउटा फाइलमा साइन गराउनुपर्ने दृश्य थियो । पहिलो टेकमा नै ओके भयो ।’ उक्त चलचित्रको प्रोडक्सन पनि उनैले हेरेका थिए ।

०४१ सालमा नेपाल टेलिभिजन आएपछि उनले टेलिभिजनका लागि टेलिड्रामा बनाउने अवसर मिल्यो । नीर शाहको पहलमा आएको हुँदा श्री समुहका सबै त्यसमा सहभागी भए । नेपाल टेलिभिजन प्रसारणको पहिलो दिन नै उनी अभिनित टेलिफिल्म ‘पृथ्वी नारायण शाह’ प्रशारण भएको थियो ।

केही समय उनले लगातार टेलिफिल्ममा काम गरिरहे । उनले ‘चक्रब्युह’, ‘टाढाको वस्ती’, लगायतका टेलिफिल्ममा अभिनय गरे । दुबै निकै हिट सिरियल थिए । कृष्ण मल्लले निर्माण गरेको टाढाको बस्तीमा उनी ‘पुन्टे’ को भूमिकामा प्रस्तुत भए । उक्त भूमिकामा रामचन्द्रलाई निकै रुचाइयो । उनी सम्झिन्छन्, ‘आबुई !, पुन्टे’ भन्ने क्यारेक्टर हिट भएपछि त मलाई बाहिर हिँड्नसमेत गाह्रो भएको थियो ।’

त्यसपश्चात् बाक्लै चलचित्रहरु निर्माण हुन थाले । रामचन्द्रले काम पाइरहे । कोशेली, चेलिबेटी, माया पिरती, अधिकार लगायतका चलचित्रमा उनी चरित्र अभिनेता बने । ‘चिनो’ मा उनी खलनायक एवं राते काइलाको ‘चम्चा’ बनेका थिए । सो चलचित्रमा उनको क्यारेक्टर खुबै हिट भयो । त्यसपश्चातको दिनमा उनी खाली हात बस्नु परेको छैन ।

रामचन्द्रले धेरै चलचित्रमा फरक-फरक भूमिका निर्वाह गरेका छन् । उनी भन्छन्, ‘मैले जुन भूमिका निर्वाह गर्थेँ, त्यसलाई दर्शकले रुचाइदिनु हुन्थ्यो । सबैले मेरो अभिनय एकदमै नेचुरल छ भनेर प्रतिकृया दिनुहुन्थ्यो । त्यसैले खुशी दिन्थ्यो ।’

मायाले ‘गुरुजी’

रामचन्द्रलाई धेरैले गुरुजी भनेर सम्बोधन गर्छन् । सबैलाई माया गर्ने, सबैको सम्मान गर्ने, सबैलाई खुसी पार्ने भएर उनलाई गुरुजी भनिएको रे ।

‘खास मलाई गुरुजी भन्न कृष्ण मल्लजीले सुरु गर्नुभएको हो । त्यसपछि त मलाई सबैले गुरुजी भन्नुभयो,’ उनले भने ।

सुटिङ सेटमा कहिले पनि आराम गरेनन् उनले । उनी अन्य कलाकारलाई चिसो तातो पुर्‍याउनेदेखि किचेनमा खाना बनाउनसमेत तम्सिन्थे । उनी भन्छन्, ‘खै ! सानैदेखि काम गरेको भएर हो कि, काम नगरी बस्नै सक्दिन थिएँ ।’

रामचन्द्रले अभिनयको सुरुवात नै काका बनेर गरेका थिए । त्यसपछि पनि उनले धेरै चलचित्रमा काका तथा बाबा बनेर अभिनय गरेका छन् । उनी भन्छन्, ‘मलाई त्यस्तै भूमिका सुहाउने भएर होला सबैले काका वा बाबा नै बनाइदिनुहुन्थ्यो ।’

रामचन्द्र आफू धेरै कलाकारको बाबा वा काका बनेको बताउँछन् । उनी राजेश हमालको काका देखि सौगात मल्लसम्मको बाबासम्म बनेका छन् ।

‘धेरैजनाको काका र बाबा बन्न पाएको छु । त्यसमा निकै खुसी लाग्छ । उहाँहरुले पनि निकै माया गर्नुहुन्थ्यो,’ उनले भने ।

सादा जीवन

रामचन्द्रले कलाकार बनेर नाम कमाए, शुभचिन्तक पाए. धेर-थोर पैसा पनि कमाए । तर, उनको जीवनशैली फेरिएको छैन । उनी अझै सार्वजनिक यातायातमा हिँड्छन् । उनलाई गाडी चढ्ने शोख कहिल्यै पलाएन ।

‘अहिलेसम्म पनि म लोकल बसमा नै यात्रा गरिरहेको छु । यसैमा मलाई सन्तुष्टि मिलिरहेको छ’, उनले भने ।

रामचन्द्रले पढ्न पाएनन् । घरको जेठो छोरा भएर जन्मिएकाले पनि उनले त्यो अवसर गुमाए । तर, उनले आफ्नो सन्तानलाई भने राम्रै स्थानमा पुर्‍याएका छन् ।

मेरीबास्सैमा उनले बोल्ने डाइलग निजी जीवनमा झण्डै मिल्छ । उनको माइलो छोरा अष्ट्रेलियामा छन् भने कान्छो छोरा अमेरिकामा छन् । ‘दुबै छोराबाट एक-एक नाति छन् । बुहारीहरु पनि छोरासँगै बाहिर छन्,’ रामचन्द्र भन्छन् । उनको छोरी पनि अष्ट्रेलियामा छिन् । उनी पनि श्रीमान्सहित अष्ट्रेलिया पुगेकी हुन् । रामचन्द्रको जेठा छोरा भने चलचित्र विकास बोर्डमा कार्यरत छन् ।

@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया