भारतमा रमाइलो बहस ! हनुमान कस्का र जात के ?

प्रकाशित मिति:

अक्सर हिन्दू धर्मावलम्बीहरुले हनुमानलाई भगवानको रुपमा पूजा गर्छन् । रामायणका केन्द्रीय पात्रको रुपमा उनको नाम राम भक्त हनुमानको रुपमा धेरैले स्मरण गर्ने गरेका छन् । हनुमानलाई नेपालसमेत भारत, म्यान्मार, थाइल्यान्ड, क्याम्बोडिया, मलेशिया, इण्डोनेशिया, श्रीलंकालगायतका मुलुकमा कुनै न कुनै हिसाबले सम्झिने गरेको पाइन्छ ।

छिमेकी भारतमा भने अहिले हनुमानको विषयलाई लिएर रमाइला चर्चा भइरहेका छन् । लोकसभाको निर्वाचन नजिक आइरहेका बेलामा हनुमानलाई जातीयकरण गर्ने खेल भइरहेको छ । गएको नोभेम्बर महिनामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विधानसभा निर्वाचनको एउटा र्यालीलाई सम्बोधन गर्ने क्रममा राजस्थानमा हनुमानलाई दलित भनिदिएका थिए । त्यसपछि शुरु भएको बहस अझै रोकिएको छैन । योगीले राजस्थानको मलाखेदामा आयोजित सेडुल्ड कास्ट ( अनुसूचीत वर्ग) को कार्यक्रममा भनेका थिए, ‘‘बजरंगबली हाम्रो भारतीय परम्परामा एक यस्ता लोकदेवता हुन् जो आफैं वनवासी हुन् । दलित हुन् र अपहेलित हुन् ।’’

उनले सो अवसरमा जो रामभक्त हुन् उनीहरुले भारतीय जनता पार्टीलाई मतदान गर्नुपर्ने र जो रावणमा विश्वास गर्छन् तिनले कांग्रेसलाई मत दिनुपर्छ भनेका थिए । उनको यो भनाईलाई लिएर सर्ब ब्राम्हण महासभाका अध्यक्ष सुरेश मित्रले एक पत्र पठाएर योगी आदित्यनाथले भनेका कुरामा माफी माग्नुपर्ने जनाएका थिए । पत्रमा भनिएको थियो,‘‘योगीले जे कुरा भने यसले हिन्दूलाई अपमान गरेको छ । हनुमान भनेका शक्तिशाली भगवान हुन् उनलाई दलित वा अपहेलित भन्न मिल्दैन । उनले बिना कुनै शर्त माफी माग्नुपर्छ नत्र हामी अदालत जान बाध्य हुनेछौं ।’’

योगी रामदेवले यसै विषयलाई लिएर केही दिन अघि भगवानको कुनै जाति नहुने बताएका थिए । उनले जन्मका आधारमा सबै शुद्र भएको उल्लेख गर्दै कर्मअनुसार जाति तय हुने बताएका थिए । उनले हनुमानको जातिको बारेमा भइरहेको विवादका बारेमा कुरा गर्दै शास्त्रमा हनुमानको जातिको उल्लेख नगरिएको बताउँदै भनेका छन्,‘‘गुणको आधारमा हनुमान ब्राम्हण हुन् । उनलाई वेदको ज्ञान छ । योद्धाका हिसाबले हेर्दा उनी क्षत्रीय हुन् ।’’

भाजपाका अर्का एक विधायकले भने हनुमानजी मुसलमान भएको बताएका छन् । बुक्कल नबाब नामका ती विधायकले हनुमान सबैका लागि हुन् तर उनको नाम मुश्लिमसँग मिल्दोजुल्दो भएको उल्लेख गरेका छन् । जस्तो मुसलमानको नाम रहमान, फरमान, जिसान, कुर्बान आदि सबैको पछाडी ‘न’ आउने भएकोले हनुमानसँग मिल्दोजुल्दो भएको उनको तर्क छ । ती सांसद समाजवादी पार्टीबाट भाजपामा प्रवेश गरेका हुन् ।

आदित्यनाथले हनुमान जंगली भएको र बजरंगबलीले उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्म जोडेको बताएका थिए । भोपालका एक जैन पूजारीले भने हनुमान दलित पनि नभएको र जनजाती पनि नभएको बरु एक जैन भएको दाबी गरेका छन् । आचार्य निर्भय सागर महाराज नामका ती जैन गुरुले जैन धर्मशास्त्र अनुसार हनुमानलाई जैन भएको दाबी गरेका हुन् । जैन धर्ममा परिचय गराइएका १६९ महान व्यक्तिमा हनुमान पनि भएको उनको भनाइ छ ।

हनुमान भनेका कामदेव हुन् । जैन धर्ममा २४ जना कामदेव छन् । हनुमान क्षेत्रीय (योद्धा) हुन् । आफ्नो तर्कलाई अघि सार्दै उनले भनेका छन्, ‘‘जैन धर्मशास्त्रमा हनुमानको सन्दर्भ धेरै छ । अन्य जैनहरुको जस्तै हनुमानको पनि कुनै जात हुँदैन ।’’ आदित्यनाथले हनुमानले जस्तै हामीपनि आफ्नो उद्देश्य पूरा नहुन्जेल लाग्नुपर्छ भनेका थिए । यसबारेमा इण्डिया टुडे टिभीले भाजपाका अध्यक्ष अमित शाहलाई प्रश्न गरेकोमा उनले भने त्यसबारेमा जवाफ दिन अस्वीकार गरेका थिए । अमित शाहले ‘ठूलो राज्यका मुख्यमन्त्रीले कसरी व्याख्या गर्नुभएको हो उहाँलाई नै त्यसबारेमा सोध्न’ आग्रह गरेका थिए ।

योगीको भनाई पछि लखनउमा रहेको दलित संगठनले भने हनुमान मन्दिरमा नियन्त्रण गर्न आग्रह गरेको थियो । यदि हनुमान दलित हुन् भने उनको मन्दिरमा दलितबाहेक अरुलाई प्रवेश निषेध गर्नुपर्छ भन्ने सो संगठनको तर्क थियो । योगीको तर्कपछि शेडुल्ड जाति सम्बन्धी राष्ट्रिय आयोगका अध्यक्ष नन्दकुमार साइले हनुमान दलित नभइ जनजाती भएको बताएका थिए । उनको तर्क थियो,‘‘भगवान हनुमान जनजाती हुन् दलित होइनन् । उनी लामो समयसम्म जंगलमा बसे । रावणविरुद्धको युद्ध जित्नका लागि उनले रामको पक्षमा रहेर महत्वपूर्ण भूमिका खेले । त्यसैले उनी जनजाति हुन् । त्यही कुरा उत्तरप्रदेशका मुख्यमन्त्रीले भन्न खोज्नुभएको होला । त्यसैले त्यसबारेमा प्रश्न गर्नु अघि इतिहास पढ्नुपर्छ ।’’ बुद्ध धर्ममा पनि हनुमानको प्रसंग आउने बताइने गरेको छ । तर, भारतका बौद्धमार्गीले हनुमान हाम्रा हुन् भनेर चाहिँ दाबी गरिसकेका छैनन् ।