नक्कली ब्लुबुक देखाएर बैंकबाट पौने ३ करोड ऋण

१४ माघ २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
13 Shares


काठमाडौं । गाडीको नक्कली ब्लुबुक देखाएर बैंकबाट पौने ३ करोड ऋण लिने गिरोहमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रतिलिपी ब्लुबुकमा गलत विवरण भरी देव विकास बैंकमा धितो राखेर ११ जना ऋणीहरुको नाममा ऋण निकाल्न संलग्न मुख्य योजनाकार काभ्रेको भुम्लु गाउँपालिका १ का नारायणबहादुर श्रेष्ठसहित ९ जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा भुम्लुकै बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नवीन श्रेष्ठ, कृष्णबहादुर खत्री, नरेशमान सिंह अमात्य र देव विकास बैंकका तत्कालिन शाखा प्रबन्धक सरिन शंकर श्रेष्ठ रहेका छन् । पक्राउ परेका बालकृष्ण श्रेष्ठ भुम्लु गाउँपालिका १ का वडासदस्यसमेत हुन् ।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले मंसिर २५ गतेदेखि विभिन्न मितिमा मोरङ, काभ्रे र काठमाडौं जिल्लाबाट पक्राउ गरेको सीआईबीका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।सीआईबीका अनुसार उनीहरुले बैंकमा सवारी साधन धितो राखी ऋण लिने क्रममा प्रतिलिपी व्लु बकमा नक्कली डाटा तयार गर्नुका साथै आफु अनुकुलका विवरणहरु राखेर पेश गरेका थिए । त्यस्तै विभिन्न व्यक्तिहरुलाई ऋणी बनाई १६ वटा कर्जा फाईल तयार गरी उनीहरुले २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण निकालेका छन् ।मुख्य योजनाकार नारायण श्रेष्ठ गाडी किनबेचमा आवद्द रही यातयात कार्यालयमा सजिलै प्रबेश पाउने हैसियत बनाएको देखिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार तत्कालिन शाखा प्रबन्धक सरिनशंकर श्रेष्ठले ऋण प्रवाहमा गर्दा आफ्नो कर्जा सीमा नाघी कर्जा स्वीकृत गरेको जनाएको छ ।

उनीहरुलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ तथा मुलुकी ऐनको सरकारी छाप दस्तखत कीर्ते कागजको महल बमोजिमको कसुरमा अनुसन्धान पूरा सीआईबीले सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया