बुटवल, ७ साउन । नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल रुपन्देही कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पशुपति माविको मैदानमा सोमबार भएको खेलमा नवयुवाले दाङ नयांबजार घोराहीविरुद्ध २–१ गोल अन्तरको जित निकालेको हो । नवयुवालाई जित दिाउन संजय थापाले पहिलो हाफको २५ औं मिनेटमा र दिपेश गुरुङले दोस्रो हाफको १० औं मिनेटमा एक–एक गोलको योगदान गरे । दाङका लागि आशिष घर्ती क्षेत्रीले दोस्रो हाफको ३३औं मिनेटमा सान्त्वना गोल गरे । सोमबारको खेलमा दाङका आशिष घर्ती नै म्यान अफ द म्याच भए । मंगलबार रुपन्देहीको सियारी–१ डिवाईसी र फुलबारी गाइज बुटवलबीच खेल हुने क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए । साउन २१ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब दादर ११,पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल सहित रुपन्देही,नवलपरासी,दाङ,स्याङजा र चितवनका गरी १६ टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।