संवैधानिक परिषद्को निर्णय फिर्ता गर्न कांग्रेसको माग

प्रकाशित मिति:

काठमाडौँ  /  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संवैधानिक परिषद्को निर्णय फिर्ता गर्न संसदीय सुनुवाई समितिसँग माग गरेको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकमा प्रमुख कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, जितेन्द्रनारायण देव, भिमसेनदास प्रधान र पुष्पा भुसालले प्रमुख प्रतिपक्ष दलको नेताको अनुपस्थितिमा बसेको बैठकको निर्णय मान्य नहुने अडान लिँदै संवैधानिक परिषदमै सो निर्णय फिर्ता गराउन माग गर्नुभएको हो । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्ष दलको नेतालाई सूचना नै नदिई संवैधानिक परिषदले गरेको निर्णय मान्य नहुने पार्टीको अडान रहेको पनि स्पष्ट पार्नु भयो ।

काँग्रेस केन्द्रिय कार्य समितिको आजको बैठकमा पनि नेताहरुले संविधान विपरित गरिएको परिषद्को निर्णय फिर्ता नभए न्यायका लागि अदालत जाने विषयमा छलफल भएको थियो । माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलगायतका पाँच वटा संवैधानिक आयोगको अध्यक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।