पाँच प्रहरीमा गोली प्रहार, संदिग्ध दुई आक्रमणकारीको मृत्यू

प्रकाशित मिति:

टेक्सस/ दक्षिण पुर्वी ह्युस्टनमा बन्दुकधारीहरुले पाँच प्रहरी अधिकारीहरु माथि गोली प्रहार गरेका छन्। स्थानीय संचार माध्यमका अनुसार गोली लागेका पाँचैजना प्रहरी अधिकारीहरुलाई लाइफ(फ्लाइट हेलिकप्टर र एम्वुलेन्सबाट मेमोरियल हर्मन मेडिकल सेन्टर ह्युस्टनमा लगिएको छ। जस मध्ये दुई जनाको अवस्था गम्भिर रहेको बताइएको छ भने अन्य तीनको अवस्था स्थिर छ । पाँच मध्ये चार जनालाई मात्र गोली लागेको र अन्य एक अन्य कारणले घाइते भएको संचार माध्यमहरुले जनाएका छन् । प्रहरी अधिकारीहरुलाई गोली हान्ने मध्येका दुईजना प्रहरी कार्बाहीमा मारिएको र दुईजना संदिग्ध स्थानीय एक घरभित्र रहेको र दर्जनौं प्रहरीले घरलाई घेरेर राखेको समाचार छ। घटनास्थलमा अहिले ह्युस्टन पुलिस डिपार्टमेंटको स्पेशल फोर्स SWAT टिम तैनाथ गरिएको छ। SWAT टिमले कुनैपनि बेला दुईजना संन्दिग्ध बन्दुकधारीहरु लुकेर बसेको घरमा कार्बाही गर्न सक्ने बुझिएको छ। भर्खरै ह्युस्टनका मेयर सिल्भिस्टर टर्नर घाइते प्रहरी अधिकारीहरुलाई राखिएको अस्पताल पुगेका छन् भने ह्युस्टन प्रहरी प्रमुख आर्ट एसिभेडो घटनास्थल पुगेका छन्।

घटनाको पुष्टि गर्दै र घटनाप्रति दुख व्यक्त गर्दै टेक्ससका गभर्नर ग्रेग एबटले एक बक्तब्य मार्फत ह्युस्टन पुलिसलाई आवश्यक सबै सहयोग गर्ने बताएका छन्। गभर्नर एबटले घटनामा संलग्नहरुलाई कानूनको दायरामा ल्याइने भनेका छन्।