७ साउन, । प्रमुख प्रतिपक्ष दल कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दम्भयुक्त अभिव्यक्ति नदिन चेतावनी दीएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति दम्भयुक्त भन्दै कांग्रेसले त्यस्तो नगर्न सचेत गराएको हो । सोमबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेसले गोविन्द केसीको मुद्दालाई साथ दिएकोमा आलोचना गर्दै त्यान्द्रो समाएर राजनीति गरेको टिप्पणी गरेका थिए । ‘डा. केसीको न्यायोचित मागका पक्षमा उभिनुलाई त्यान्द्रो समाएर राजनीति गरेको भन्नु र राजनीतिक आग्रह राखेर डा. केसीलाई हेर्नु प्रधानमन्त्री पदको उचाई अनुरुपको स्वभनीय अभिव्यक्ति विल्कुलै होइन’ विज्ञप्तिमा भनिएको छ । शेरबहादुर देउवाको नेतृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशमा केसीले उठाएको माग संबोधन भएको भन्दै कांग्रेसले अहिले सरकारले नै समस्या सिर्जना गरेको बताएको छ । उत्पन्न समस्या नेपाली कांग्रेस वा डा. केसीका कारण नभई सो अध्यादेशलाई उल्ट्याउनतर्फ ओली सरकार उद्धत भएका कारण उब्जिएको समस्या हो’ कांग्रेस प्रवक्ता शर्माले भनेका छन् । सोमबारको उक्त कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेसले नै डा. केसीको मृत्यु चाहेको र लासको राजनीति गर्न खोजेको आरोप लगाएका थिए । त्यसको जवाफमा कांग्रेसले भनेको छ ‘संसदलाई समेत छलेर सडकमा दमनको अस्त्र प्रयोग गर्ने सरकारलाई सच्चिनका लागि दबाव दिनुपर्नेमा उल्टै नेता दाहालले कांग्रेसमाथि लासको राजनीति गरेको आरोप लगाउनु दुःखद छ ।’