सप्तरीमा मामाघर गएकी किशोरीको बलात्कार

प्रकाशित मिति:

सप्तरी – सप्तरीमा एकजना किशोरी बलात्कृत भएकी छिन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई मामाघर छिन्नमस्ता गाउँपालिका वडा नम्बर तीन महुवा आएको बेला एक १८ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।घर नजिकै बारीमा दाउरा लिन गएको बेला त्यही ठाउँका २० वर्षीय युवक प्रभुकुमार यादवले किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो । दाउरा लिन गएको बेला कोही नभएको मौका छोपी किशोरीको बलात्कार भएको प्रहरीले जनाएको छ ।

यता बलात्कारपछि युवक फरार रहेको तथा उनको खोजी कार्य तीव्र रुपमा भैरहेको इलाका प्रहरी कार्यालय सखडाका इन्चार्ज सुरेशकुमार यादवले जानकारी दिनुभयो ।बलात्कृत किशोरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको तथा पीडितका परिवारजनले न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरीसमेत दर्ता गराएको पीडितका आफन्तले बताएका छन् ।