मलेसियाको एक कम्पनीले तलब नदिएपछि कामदार हडतालमा

प्रकाशित मिति:

मलेसिया / तलब नपाएको भन्दै मलेसियाको डब्लु आर पी एसिया प्यासिफिक ग्लोभ कम्पनीमा कार्यरत नेपालीसहित विभिन्न देशका श्रमिकले काम छाडेर हडताल गरेका छन् ।दुई महिनादेखि कम्पनीले तलब नदिएकाले काम छाडेर हडताल गरेको कम्पनीमा कार्यरत ललित तामाङले बताउनुभयो ।मलेसियाको सेलंगरमा रहेको डब्लु आर पी एसिया प्यासिफिक ग्लोभ कम्पनीले तीन महिनामा बल्ल एक महिनाको तलब दिएको र बाँकी तलब माग्दा आनाकानी गर्दै नदिएपछि काम छाडेर हडतालमा उत्रनु परेको पीडित ललितको भनाई छ ।

‘हामीले आफूले गरेको कामको मूल्य मागेका हौं, दिन्छु भन्दै काम लगाउने तर पैसा नदिने गरेपछि हामी बाध्य भएर हडतालमा उत्रिएका हौं,’ ललितले भन्नुभयो ।नपाएर हडतालमा उत्रिनु पर्ने अवस्थामा पुग्दा पनि नेपाली दूतावासले बेवास्ता गरेको पीडितको गुनासो छ ।तर पीडित कामदार कसैले पनि दूतावासमा सम्पर्क नगरेको मलेसियाका लागि कार्यवाहक राजदूत कुमारराज खरेलले बताउनुभयो । पीडितले निवेदन दिएको खण्डमा कम्पनीलाई आवश्यक कारबाही गर्ने उहाँले स्पष्ट पार्नुभयो ।कम्पनीले हातमा लगाउने पञ्जा उत्पादन गर्छ । पछिल्लो समय यो कम्पनी नेपाल सरकारले कालो सूचीमा राखेको छ ।