कञ्चनपुरमा अनिश्चितकालिन बन्दः अवैध संरचना भत्काउन माग

प्रकाशित मिति:

कञ्चनपुर- सार्वजनिक जग्गामा अवैध तरीकाले निर्माण गरिएका संरचना भत्काउनुपर्ने माग गर्दै प्रमुख राजनीतिक दलका भ्रातृ संगठनहरुले कञ्चनपुर बन्द आह्वान गरेका छन् । महेन्द्रनगर नगर विकास समितिको जग्गामा भएको अतिक्रमण रोकेर खाली गर्न माग गर्दै प्रमुख राजनीतिक दलका भ्रातृ संगठनहरुले अनिश्चितकालिन बन्द आह्वान गरेका हुन् ।

उनीहरुले भाडाका नाममा सरकारी जग्गामाथि भएको दोहन हटाउन र अवैधानिक तवरले निर्माण भएका संरचना तत्काल भत्काउन माग गरेका छन् । बन्दका कारण सदरमुकाम महेन्द्रनगर बिहानैदेखि ठप्प छ। आन्दोलनरत विद्यार्थी बिहानैदेखि सडकमा उत्रिएर बन्द गराउँदै हिँडेका छन्।यसअघि, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समेत एक महिनाभित्र अवैधानिक तरीकाले बनेका भवन भत्काउन पुस ९ गते आदेश दिएको थियो ।