दम्भी सरकार विपक्षको आवाज दबाउन मात्र उद्यत : गगन थापा

प्रकाशित मिति:

पर्वत-  नेपाली काँग्रेसका नेता गगन थापाले वर्तमान सरकार विपक्षी आवाज दबाउन मात्र केन्द्रीत भएको बताएका छन् । कुश्मा–३ दुर्लुङस्थित सूर्यप्रकाश माविको वार्षिकोत्सवलाई सम्बोधन गर्दै थापाले काम गर्ने र परिणाम दिने बेला भएपनि सरकार विपक्षीको स्वर दबाउन र परम्परा भत्काउन मात्र केन्द्रीत भएको थापाले बताए।

‘यो काम गर्ने बेला हो, परिणाम दिने बेला हो। तर सरकार विरोधी दबाउन र परम्परा भत्काउनमै केन्द्रीत भएको छ’, थापाले भने। ठूला परिवर्तनपछि बनेको दुई तिहाईको सरकार पूर्ण रुपमा असफल भएको उनको भनाई छ। दुई तिहाईको दम्भले परम्परा कुल्चिदाको परिणाम भोग्नुपर्ने चेतावनी दिँदै थापाले राम्रो काममा सहयोग गर्ने काँग्रेसको नीति नै भएको धारणा राखे।

जीवनभर परिवर्तनका निम्ति लडेका र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पतालमाथि गरिएको विभेद असह्य भएको थापाले बताए। थापाले नेपालमा सबै नागरिकको सामाजिक सुरक्षा हुनुपर्ने बताए।

उनले एउटा गम्भीर बिरामी भएका नेपाली नागरिक उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यतामा पर्ने गरेको भन्दै सबै नागरिकको सामाजिक सुरक्षा अहिलेको मुख्य चुनौती भएको धारणा राखे। उनले आफू स्वास्थ्यमन्त्री हुँदा शुभारम्भ गरेको स्वास्थ्य बीमा र स्वास्थ्य नीति महत्वपूर्ण रहेको दाबी गरे। कमाई गर्ने नागरिकबाट राज्यले कर लिने नीति हुनुपर्ने र उसलाई समस्या आउँदा सबै दायित्व राज्यले लिनुपर्नेमा थापाले जोड दिए। थापाले स्वास्थ्य र शिक्षाको सुधार नै मुलुकको अहिलेको आवश्यकता भएको बताए। सामुदायिक छाडेर निजी विद्यालयतर्फको आकर्षणलाई पहिल्याएर सामुदायिक विद्यालयको सुधारमा लाग्नुपर्नेमा थापाले जोड दिए। थापाले सूर्यप्रकाश माविमा नवनिर्मित सभाहलको उद्घाटन गरे।