हडतालमा सहभागी भएको आरोपमा ५ हजार श्रमिकले गुमाए रोजगारी

प्रकाशित मिति:

 बङ्गलादेश- बङ्गलादेशमा विश्व प्रसिद्ध ट्रेडमार्कका लागि कपडा सिलाउने तर निम्न ज्यालामा काम गर्दै आएका श्रमिकले हडतालमा सामेल भएको आरोपमा करिब पाँच हजार जनाको रोजगारी गुमेको छ।  जनवरीमा उचित ज्यालादर कायम गर्न माग गर्दै आन्दोलनमा सहभागी भएका कारण उनीहरूको रोजगारी गुमेको हो।

केही दिनदेखि जारी हडतालमा देशभरबाट हजारौँको सङ्ख्यामा सहभागी भएपछि करिब ३० अर्ब अमेरिकी डलर लगानीमा सञ्चालनमा रहेको कपडा उद्योगमा काम अवरूद्ध भएको थियो।  बङ्गलादेशको असुलियामा कपडा सिलाईसम्बन्धी कम्पनीहरू एच एण्ड एम, वालमर्ट लगायतका कम्पनीविरुद्ध भएका प्रदर्शनका क्रममा भएका झडपमा एक जनाको मृत्यु भएको छ भने ५० जनाको मृत्यु भएको छ।

प्रदर्शन चर्किँदै गर्दा भएका झडपका क्रममा हजारौँ कामदारले उद्योग तथा तीसँग सम्वद्ध संस्थाबाट सामानहरू लुटेको र तोडफोड गरेको आरोपसँगै उनीहरूलाई उद्योगले हटाएका समाचार बाहिर आएका हुन्।  ‘अहिलेसम्म कपडा उद्योगले चार हजार ८९९ कामदारलाई आन्दोलन गरेको आरोपमा जागिरबाट निकालेको छ,’ एक प्रहरीले नाम गोप्य राख्ने सर्तमा बताए।  ट्रेड यूनियनले कामबाट हटाइएका कामदारको सङ्ख्या करिब सात हजार पुगेको र करिब सय जनालाई पक्राउ गरिएको बताएका छन्।  तर इन्डस्ट्री अल बङ्गलादेश काउन्सिलका महासचिव सलाउद्दिन सापोनले भने युनियनको आह्वानमा आन्दोलनमा सहभागी भएका कामदार डरले आफै काममा नफर्किएको दाबी गरे।