फुटबल खेलाडी गोपालको सहयोगका लागि कर्णदासको एकल साँझ

प्रकाशित मिति:

काठमाडौं– पोखरा रत्नचोक–७ का पूर्व फुटबल खेलाडी गोपाल श्रेष्ठ विगत २५ वर्षदेखि एचआईभीबाट पीडित छन् । उनी अहिले विभिन्न संघसंस्थाका साथ एचआईभीसम्बन्धी जनचेतना जगाउने काममा सक्रिय छन् । उनै श्रेष्ठ समाजले एचआईभी संक्रमितहरूलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सगरमाथा आरोहणको तयारीमा गरिरहेका छन् ।

श्रेष्ठको यो अठोटलाई साकार पार्न लोकप्रिय गायक एवं संगीतकार कर्णदासले पनि आर्थिक संकलनका लागि ‘कर्ण दास एकल साँझ मनोरञ्जनात्मक रात्रीभोज कार्यक्रम’ आयोजना गर्ने भएका छन् । कार्यक्रममा कर्णदासले आफ्ना हिट गीत प्रस्तुत गर्ने बताइएको छ । कार्यक्रमको संयोजन ‘स्टेप अफ क्याम्पियन’ले गर्दैछ ।

श्रेष्ठको सगरमाथा आरोहणका लागि करिब ४३ लाख रुपैयाँ आवश्यक पर्छ । त्यसका लागि देशका विभिन्न स्थानमा कर्ण दास एकल साँझ हुँदै आएको छ । यही फागुन १ गते लायन्स अफ काठमाडौं टेम्पलको आयोजनामा काठमाडौंको म्युज रेस्ट्रोबार लाजिम्पाट उत्तरढोकामा पनि यो एकल साँझ आयोजना हुन लागेको हो ।