रुकुमपश्चिम – गाउँ घुम्न भन्दै घरबाट निस्केकी एउटी महिला मृत अवस्थामा फेला परेकी छिन् ।रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३, की ४८ वर्षीया सुनिता बुढा बुधबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।जिल्लाप्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार आफ्नै घरदेखि एक सय मिटर टाढा पाखो जमिनमा बुढाको शव फेला परेको हो । मृतक बुढा अघिल्लो दिन गाउँतिर घुम्न जाने भन्दै घरबाट निस्किएको र प्रारम्भिक अनुसन्धानको क्रममा बुढाले अत्याधिक मात्रामा मादक पदार्थ सेवन गर्दै हिँड्ने गरेको कुरा खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।
उहाँका अनुसार बुढाको शव जिल्ला स्वास्थ्य कार्यालय सल्लेमा ल्याएर पोष्टमार्टम गराउने कार्य भइरहेको छ । मृतक बुढाका श्रीमान भिम बहादुर बुढा र छोरा रोजगारीको सिलसिलामा भारतमा रहेको बुझिएको छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।