फेसबुकको त्रैमासिक मुनाफा ६ अर्ब ८८ करोड डलर

प्रकाशित मिति:

बुटवल- फेसबुकले सन् २०१८ को अन्तिम तीन महिनामा कीर्तिमानी त्रैमासिक मुनाफा हासिल गरेको छ । बुधवार सार्वजनिक गरिएको तथ्यांकअनुसार सो अवधिमा फेसबुकको नाफा ६ अर्ब ८८ करोड डलर नाफा भएको हो । यो कम्पनीको अहिलेसम्मकै सबैभन्दा बढी त्रैमासिक नाफा हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा फेसबुकको नाफा ६१ प्रतिशतले बढेको हो । २०१८ को अन्तिम त्रैमासिक अवधिमा कम्पनीको आम्दानी ३० प्रतिशतले बढेर १६ अर्ब ९१ करोड डलर पुगेको छ । यसमा विज्ञापनको बाट आएको आम्दानीको हिस्सा ९३ प्रतिशत छ ।

फेसबुकको सकारात्मक त्रैमासिक नतिजाको कारण अमेरिकी बजारमा कम्पनीको शेयर पनि बुधबार १२ प्रतिशत बढेको छ ।
फेसबुकका दैनिक र मासिक सक्रिय प्रयोगकर्ता ८.६ प्रतिशतले बढेको हो । यो अवधिमा दैनिक सक्रिय प्रयोगकर्ता १ अर्ब ५२ करोड पुगेका छन् । मासिक प्रयोगकर्ता भने २ अर्ब ३२ करोड पुगेका थिए । उत्तर अमेरिकाबाहेक अन्य क्षेत्रमा फेसबुकका मासिक प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । एसिया प्यासिफिक क्षेत्रमा सबैभन्दा बढी सक्रिय प्रयोगकर्ताको संख्या बढेको छ । २०१८ को अन्तिम तीन महिनामा फेसबुकका केही कमजोरीहरु सार्वजनिक भए पनि यसले नाफामा भने खासै असर नगरेको पाइएको छ ।