सगरमाथाको २५ वर्ष, रजत महोत्सव मनाउदै

प्रकाशित मिति:

 झविन्द्र देवकोटा बुटवल, १७ माघ । रुपन्देहीको देवदहमा रहेको सगरमाथा आवासिय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा रजत जयन्ति महोत्सव मनाउने भएको छ । विद्यालयले माघ २९ गतेदेखि विभिन्न रचनात्मक तथा सृजनशिल कृयाकलापहरु गरेर फागुन ७ गते मुल समारोह गरेर रजत महोत्सव गर्ने भएको हो । विद्यालयले बिहीबार पत्रकार सम्मेलन गरि रजत महोत्सव मनाउनका लागि सबै कार्यक्रमको तयारि पुरा भएको जानकारी गराएको हो । विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले सप्ताहब्यापि कार्यक्रमका साथ रजत महोत्सव मनाउन लागेको जानकारी गराउनुभयो । उहाँले सप्ताहब्यापि कार्यक्रम माघ २९ गतेदेखि सुरु भएतापनि रजत जयन्ति महोत्सव सम्वन्धि कार्यक्रम माघ १७ गतेदेखिनै जारी रहेको बताउनुभयो ।

उहाँका अनुसार माघ १७ गते भुपु विद्यार्थी पुनर्मिलन कार्यक्रम, २९ र फागुन १ गते नगरस्तरिय छात्रछात्रा अन्तरमावि भलिवल प्रतियोगिता, फागुन २ गते अन्तरमावि सगरमाथा रनिङ्ग शिल्ड वक्तृत्वकला प्रतियोगिता, ३ गते निशुल्क स्वास्थ्य शिविर, ३ गते विद्यार्थीद्वारा खाना महोत्सव, ५ गते नगरस्तरिय सरसफाई कार्यक्रम तथा शिक्षक कर्मचारी अभिभावक मैत्रीपुर्ण खेलकुद प्रतियोगिता, ६ गते शैक्षिक जनचेतनामुलक ¥याली तथा विभिन्न शैक्षिक तथा खेलकुद कृयाकलापमा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम र ७ गते मुल समारोहका विचमा रजतजयन्ति महोत्सव गरिने छ । रजत जयन्ती मुल समारोहको उद्घाटन सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्ने कार्यक्रम रहेको प्राचार्य पौडेलले जानकारी दिनुभयो । २०५१ सालमा स्थापना भएको सगरमाथा विद्यालयमा स्थापनाको वर्ष ४ जना शिक्षक कर्मचारी र ६५ जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले कक्षा १२ सम्म एक हजार ५ सय ७५ विद्यार्थी तथा ६१ जना शिक्षक कर्मचारीले अध्यापन गराई रहेका छन् । कक्षा ११ र १२ मा मानविकी, विज्ञान र ब्यवस्थापन विषयमा अध्यापन हुदै आएको सहायक प्राचार्य लेखनाथ काफ्लेले जानकारी दिनुभयो । रजत महोत्सवको अवसरमा विद्यालयले रुपन्देहीको उत्तरी पुर्वी क्षेत्रको नमुना विद्यालयका रुपमा विकास गर्ने लक्ष्य लिएको समेत जनाएको छ । पत्रकार सम्मेलनको संचालन सहायक प्राचार्य प्रदिप अधिकारीले गर्नु भएको थियो ।