प्रधानमन्त्रीले भने : मेरो काम देखेर संसार आश्चार्य चकित भयाे !

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एक वर्षमा गरेका कार्यहरुले संसार आश्चार्य चकित भएको बताएका छन् । आफूले एक वर्षमा असाधारण कार्यहरु गरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले एक वर्षमा गरेका कामहरुको विवरण विश्व मञ्चहरुमा राख्दा विश्वको ध्यान नेपालतर्फ गएको बताए ।

बिहीबार झापाको दमकमा प्रदेश १ स्तरीय ‘बाल महोत्सव’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘म विश्वका ठूला मञ्चहरुमा गएको छु । राष्ट्र संघको मञ्चमा गएको छु । डाभोसमा गएर नेपालमा भइरहेका कामहरुबारे जानकारी गराएको छु । हाम्रो कामहरु देखेर संसार आश्चार्य चकित छ ।’

प्रधानमन्त्री ओलीले यति छोटो समयमा कैयौं कानूनहरु बनाएको, संघीय संरचनालाई पूर्णता दिएको, कर्मचारी समायोजन गरेको दाबी गरे । प्रधानमन्त्री ओलीले वर्तमान सरकार मुलुकलाई विभिन्न कोणबाट समृद्ध बनाउने तर्फ अघि बढेकाले कसैको विरोधले फरक नपर्ने उल्लेख गरे । सरकारको विरोध गर्नेहरुलाई विकासमा अघि बढ्न उनले आग्रह गरे ।

उनले भने, ‘हामी मुलुक बनाउन अघि बढिरहेका छौं । सबै मिलेर विकासमा अघि बढौं । ‘सेन्टिमेन्ट’ मा होइन ।’ सरकारको विरोध गर्नेहरु आफै थाक्ने भन्दै उनले यति छिटो, यति सहज ढंगले कुनै पनि व्यवस्था संस्थागत नहुने दाबी गरे ।

मुलुकमा सन्तुलित र सरल तरिकाले स्थानीय, प्रदेश र केन्द्रीय सरकार तथा एउटा नयाँ व्यवस्थालाई स्थापित गरेको प्रधानमन्त्री ओलीले बताए । उनले आफू नेतृत्वको सरकारले छिमेकीहरुसंगको हैसियत बराबरीको बनाएको दाबी गर्दै ठूला छिमेकीहरुसंगको हैसियत हिजोका दिनमा भन्दा उपलब्धीमूलक बनाएको बताए । उनले भने, ‘हामीले हाम्रा छिमेकीहरुसंग हिजोको असमान अवस्थाबाट समान हैसियतको अवस्थामा पुर्‍याएका छौं ।’