यस्ता छन् मन्त्रिपरिषद् बैठकका चर्चित निर्णयहरु

प्रकाशित मिति:

काठमाडौं – सरकारले माघ १४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारले जीपी कोइराला र सुशील कोइरालाको नामबाट स्थापित अस्पताललाई संघकै मातहतमा राख्ने निर्णय गरेको छ ।

भेनेजुएला प्रकरणमा सरकारले विदेशी देशहरुसँगको सम्बन्ध कुनै आइडियोलोजीका आधारमा नहुने स्पष्ट पारेको छ । मन्त्री बास्कोटाले नेपाल कुनै पनि देशको गोटी नबन्ने स्पष्टसमेत पारे । ‘मित्र राष्ट्रहरु छन् । देशहरु आइडियोलोजीको हिसाबमा सम्बन्ध हुँदैनन् । देशहरुको सम्बन्ध देशहरुको हितहरुको आधारमा पारस्परिकताको आधारमा र आफ्ना समान चासोहरु र इच्छाहरुको आधारमा हुन्छ’, उनले भने, ‘यो या त्यो हिसाबले देशलाई हामीले परिभाषित गर्दैनौँ । त्यसैले हामी भूपि शेरचनको कविता जस्तो क्यारेमबोर्डका गोटी बन्न चाहँदैनौँ ।’

उनले भेनेजुएला प्रकरणमा परराष्ट्र मन्त्रालयले सरकारको स्पष्ट धारणा सार्वजनिक गरिसकेको बताए । ‘सरकारले आफ्नो कुरा स्पष्ट पारेको छ पार्टीहरुले पार्टीको कुरा राख्छन् । कुनै पनि देशका पार्टीहरुले अर्को देशका पार्टीहरुसँगै सम्बन्ध राख्छन् । देशसितको सम्बन्ध देश र देशको बीचमा हुन्छ ।’

नेपाल आफ्नो सन्तुलित पराष्ट्र नीतिबाट निर्देशित हुने दाबीसमेत गरे । यसैबीच सरकारले लिवियामा बन्धक बनाइएका नेपालीहरुको उद्धारको प्रयास भइरहेको जनाएको छ । लिबियामा मानवतस्करहरुको बन्धकमा रहेका नेपालीहरुको उद्धारका लागि लिविया हेर्ने कायरोस्थित नेपाली दुतावास र लिवियामा कार्यरत नेपाली शान्ति सेना लागेको सरकारे जनाएको छ ।

त्यस्तै उनीहरुलाई त्यहाँ पुर्‍याउने एक जना दाललाई नेपाल प्रहरी प्रकाउ गरी अनुसन्धान थालिएको सरकारले जनाएको छ । इटली लैजाने भन्दै दलालहरुले नेपालीलाई लिविया पुर्‍याएका थिए ।

यी हुन् अन्य निर्णयहरूः

१. नेपाल खाद्य संस्थान र नेशनल टे«डिङ लिमिटेडलाई मिलाएर आपूर्तिसम्बन्धी काम गर्ने व्यवस्थाका लागि उपयुक्त नामसहित छुट्टै कम्पनीमा रूपान्तरण गर्ने आवश्यक प्रक्रिया अघि बढाउन सैद्धान्तिक स्वीकृति दिइएको छ ।

२. ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

३. राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ संशोधन गर्ने निर्णय गरिएको छ ।
४. विगतका जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना (१०१८), नेपाल प्रहरी (१४४८), सशस्त्र प्रहरी बल नेपाल (३१८) र राष्ट्रिय अनुसन्धान विभाग (२३) का गरी जम्मा २८०७ जना राष्ट्रसेवकलाई शहीद घोषणा गरी सबैको नाम नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।

५. पर्सा जिल्लाको ठोरी गाउँपालिका केन्द्र र बोगटान गाँउपालिकाको नाम परिर्वतन गरिएको छ ।

६. कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ ।

७. सुरक्षण मुद्रण सम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत गरिएको छ ।

८. देहायबमोजिमका विकास समितिहरू संघअन्तर्गत यथावत रहने गरी कायम गरिएको छ–

क) जि.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र विकास समिति (गठन) आदेश, २०७० बमोजिम गठित जि.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र , दुलेगौंडा, तनहुँ ।
ख) सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश, २०७३ बमोजिम गठित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगञ्ज, बाँके ।