शुद्धोदनको राजदरबार उत्खननमा भेटियो कुषाणकालीन तामाका मुद्रा

१७ माघ २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
51 Shares


कपिलवस्तु – बुद्धका पिता राजा शुद्धोदनको राजदरबार तिलौराकोटमा यस बर्ष गरिएको उत्खननका क्रममा २ सय ५० कुषाणकालीन (ईशा पहिलो-दोस्रो शताब्दी) का तामाका मुद्रा फेला परेका छन । उत्खननका क्रममा मध्यभागको संरचना (सेन्टर वाल कम्प्लेक्स) को उत्तरी गेटको पश्चिममा उत्खननका क्रममा सो फुटेको माटोको भाडामा सो मुद्रा फेला परेको पुरातत्व बिभागका पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले जानकारी दिए ।

प्राचिन कपिलवस्तु (तिलौराकोट) दरबार भित्रको तीन र कन्थक स्तुप गरि चार स्थानको उत्खनन कार्य जारी छ । जापानिज फण्ड ईन ट्रष्ट (जेफीड) फर युनेश्कोको आर्थिक सहयोगमा तिलौराकोट दरबार क्षेत्रको मध्य भागको संरचना परिसर, केन्द्रिय पोखरी र समय माई मन्दिर पछाडीको क्षेत्र तथा जापानका डाक्टर कसाईको सहयोगमा कन्थुप स्तुप क्षेत्रको उत्खनन शुरु गरिएको हो ।

उत्खननमा भेटिएका कुषाणकालीन मुद्राको सरसफाई गर्ने कार्य अगाडी बढाईएको पुरातत्व अधिकृत ज्ञवालीले जानकारी दिए । उत्खननका क्रममा माटोबाट बनेका मानव र जनावरका मुर्तीहरु समेत फेला परेको लुम्बिनी बिकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए ।

तीन बर्ष अघि उत्खननकै क्रममा कन्थक स्तुप दक्षिणको बिहारको उत्खननमा मौर्यकालिन (ईशा पुर्व तेस्रो शताब्दीका ) ४ सय ९७ चादीका पञ्चमार्ग मुद्रा फेला परेका थिए । फेब्रवरी २८ सम्म चल्ने उत्खननमा बेलायतको दुरहाम बिश्व विद्यालय, नेपाल सरकारको पुरातत्व बिभाग, लुम्बिनी बिकास कोष र अन्तरराष्ट्रिय बिज्ञहरुको सहभागीता रहेको छ ।

उत्खननमा दुरहाम बिश्व बिद्यालयका बेलायतका प्राध्यापक डाक्टर रबिन कनिङ्घमको नेतृत्वमा स्कटल्याण्ड र बङ्गलादेश सहितका १४ जना बिदेशी पुरातत्वबिज्ञ तथा नेपालका १२ गरि २६ सदस्यिय टोली खटिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया