शहीद हरिप्रसाद गुरुङ जसले राजा महेन्द्रको ‘कू’ लाई च्यालेन्ज दिएर डेढ महिनासम्म चितवन कब्जामा लिए

प्रकाशित मिति:

काठमाडौं – मुलुकमा प्रजातन्त्र अपहरण गरेका तानाशाह विरुद्ध जाइलागेका शहीद हरिप्रसाद गुरुङको स्मृति दिवस शुक्रबार (माघ १८ गते) मनाइएको छ । तत्कालीन शासकहरुले यसै दिन अत्यन्तै अमानवीय क्रुर ढंङ्गले हत्या गरेको दिनलाई सम्झंदै शहीद हरिप्रसाद गुरुङ स्मृति प्रतिष्ठानले पोखरामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।  सो कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शहीदको बलिदानले नै आजको पुस्ताले स्वतन्त्रता उपभोग गर्न पाईरहेको प्रष्ट पारे ।

को हुन् शहीद हरिप्रसाद गुरुङ
नेपाली काँग्रेसका महासमिति सदस्य राजबहादुर गुरुङका अनुसार हरिप्रसादलाई तत्कालीन राजा महेन्द्रको तानाशाही पञ्चायती सरकारले २०१७ साल माघ १८ गते अमानवीय तरिकाले मारेको थियो ।

२०१७ साल पुस १ गते राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको सरकार अपदस्थ गरेपछि काँग्रेस एकाएक आक्रामक भयो । चितवनमा काँग्रेसले ठूलै हल्लीखल्ली मच्यायो ।

उनै हरिप्रसादको नेतृत्वमा चितवन जनकाँग्रेसले आन्दोलनको हुण्डरी उठायो । उनले सबै सरकारी कार्यालय खाली गराएका थिए ।

काँग्रेसले चितवन नै कब्जामा लिएको थियो । सरकारले केही गर्न सकेन । सेनाको हेलिकोप्टर पनि ल्यान्ड गर्न सकेन ।  २०१७ मााघ १८ गते भने सेना पैदलमार्ग हुँदै काठमाडौंबाट गएर ठूलो खाल्डो खनेर ज्यूँदै रातभरि त्यही खाल्डोमा हरिप्रसादलाई राखेर ज्यूँदै पुरेको थियो ।  उनकै स्मृतिमा माघ १८ गते उनलाई सम्झना गर्दै आइएको छ । नेपाल सरकारले हरिप्रसादलाई शहीद घोषणा गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा हरिप्रसादलाई शहीद घोषणा गरिएको हो ।