यूएईविरुद्धको तीन खेलको टीट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल ४ विकेटको बिजयी

प्रकाशित मिति:

काठमाडौँ/

नेपालले यूएईविरुद्धको तीन खेलको टीट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा शुक्रबार ४ विकेटको जित हात पारेको छ।

यो जितपछि शृ‌ंखला १(१ को बराबरीमा पुगेको छ। एक सय ८ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो। नेपाललाई अन्तिम ओभरमा सात रन चाहिएको थियो। नेपालको जितमा दीपेन्द्रसिंह एरी र पवन सर्राफको प्रदर्शन महत्वपुर्ण रह्यो।

दीपेन्द्रले ४७ र पवनले १८ रन बनाए। यी दुईबीच छैटौँ विकेटका लागि ५५ रनको साझेदारी भयो । दीपेन्द्रले ४१ बलमा एक छक्का र चार चौका प्रहार गरे। पवनले पनि २५ बलमा २ चौका हिर्काए। ९ रन जोड्दा दुवै प्रारम्भिक ब्याट्सम्यान आउट भएपछि नेपाल सुरुवातमै दबाबमा आएको थियो।

पारस खड्का गोल्डेन डकआउट भएभने प्रदिप एरीले ८ रन जोडे। नेपालले दोस्रो बलमै पारसलाई गुमाएको थियो। दोस्रो ओभरको पाचौँ बलमा प्रदिप आउट भए। टोलीले ३५ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्ल एलबिडब्लु धरापमा परे। करन केसी २० रनमा आउट भए।

यसअघि यूएईले १९ ओभर दुई बलमा एक सय ७ रन जोड्दै सबै विकेट गुमायो। यूएईलाई सस्तोमा समेट्न अविनाश बोहोराले तीन तथा सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए।

पहिलो ओभरको अन्तिम बलमा सोमपाल कामीले असफाक अहमदलाई आउट गरे। तेस्रो ओभरको तेस्रो बलमा उनले विकेटकिपर घुलाम सब्बरको विकेट लिए।

यूएईले ३५ रन जोड्दा सन्दीपले साइमन अनवरलाई व्यक्तिगत १४ रनमा आउट गरे। लगत्तै अर्को बलमा मोहम्मद उसमानको विकेट हात पारे। सन्दीपको उक्त ओभर पहिलो थियो।

११ औँ ओभरको पहिलो बलमा छक्का व्यहोरेका करनले तेस्रो बलमा मोहम्मद बुटालाई व्यक्तिगत ११ रनमा आउट गरे। १३ औँ ओभरको चौथो बलमा अविनाशले आमिर हायातलाई आउट गरे।

चार ओभरमा सन्दीपले १९ र सोमपालले १५ रन खर्चिए। चार ओभरमा अविनाशले २० रन दिए।

यसअघि पहिलो खेलमा नेपाल बिहीबार २१ रनले पराजित भएको थियो। शृंखलाको तेस्रो तथा अन्तिम खेल आईतबार हुने छ।