गुल्मीमा झण्डै ५ हजार सवारी साधन कारवाहीमा, दुर्घटना घटे पनि मृत्युदर बढी

प्रकाशित मिति:

८ साउन, गुल्मी । गुल्मीमा आर्थिक वर्ष २०७४/०७५ मा सवारीमाथि गरिएको ट्राफिक कारवाहीबाट २८ लाख ९३ हजार ५ सय राजश्व संकलन भएको छ । कारबाहीमा परेका ४ हजार ८ सय २ सवारी साधनबाट यो रकम संकलन भएको हो ।

नियमविपरीत सवारी चलाउनेहरुबाट उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका हल्दार देवीप्रसाद पौडेलले जानकारी दिए । जिल्ला ट्राफिक कार्यालय गुल्मीका अनुसार, गत आर्थिक वर्षमा ४ सय ५४ वटा ट्रक, ४ सय ५४ वटा बस, १ हजार ३ सय २७ वटा जिप कार कारवाहीमा परेका छन् । त्यस्तै २ सय ८६ वटा ट्याक्टर, २ हजार २ सय ८१ वटा मोटरसाइकल सवारीले साधन ट्राफिक नियमविपरीत सञ्चालन गर्दा फन्दामा परेका छन् । कारवाही परेका सवारी साधनमध्ये मोटरसाइकलबाट १३ लाख ८३ हजार ५ सय राजस्व संकलन भएको छ ।

त्यस्तै, ट्रकबाट ३ लाख ३८ हजार, बसबाट २ लाख ५१ हजार, जीप कारबाट ७ लाख ६४ हजार ५ सय, ट्याक्टरबाट १ लाख ५६ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक डोरबहादुर थापाले जानकारी दिए ।

गुल्मीमा आर्थिक वर्ष २०७४/०७५ को एक वर्षमा १७ वटा सवारी साधन दुर्घटनामा परेका छन् । यो अघिल्लो वर्षको तुलनामा कम भएको जिल्ला ट्राफिक कार्यालय, गुल्मीका प्रमुख थापाले जानकारी दिए ।जिल्लामा भएको दुर्घटनामा बस २ वटा, जिपकार ४ वटा मोटरसाइकल ५ वटा, ट्याक्टर ५ वटा, डोजर १ वटा गरी १७ वटा सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । दुर्घटनामा परि १९ जनाले ज्यान गुमाएका छन् । जिल्लामा सवारी दुर्घटनामा  गत वर्ष भन्दा बढी मृत्युदर रहेको छ ।  सवारी दुर्घटनामा परि १४ जना पुरुष, ५ जना महिलाको ज्यान गएको थियो । सवारी दुर्घटनाबाट २८ जना गम्भीर घाइते र २२ जना सामन्य घाइते भएका थिए ।