नीजि विद्यालयबाट राज्यले सिक्नुपर्छ: मन्त्री बराल

प्रकाशित मिति:

बुटवल/  सामाजिक विकास मन्त्री सुदर्शन बरालले नीजि विद्यालयहरुबाट राज्यले धेरै कुरा सिक्नुपर्ने बताएका छन् । नीजि विद्यालयहरुको कुशल र चुस्त व्यवस्थापन, शिक्षकको मेहनत, विद्यार्थीको अनुशासन र लगनशीलता जस्ता कुरा सिकेर सरकारी विद्यालयमा लागु गर्नसके मात्र समग्र शिक्षाको गुणस्तर सुधार हुने मन्त्री बरालले औंल्याए । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ५ नंं. प्रदेशको दोस्रो अधिवेशनको बुटवलमा उद्घाटन गर्दै मन्त्री बरालले नीजि विद्यालयहरुले जुन खालको कुशल व्यवस्थापन गरेर शैक्षिक गुणस्तर हासिल गरेका छन्,त्यसबाट राज्यले सिक्नुपर्नेमा जोड दिए । ‘नीजि विद्यालयका शिक्षकहरुले जसरी मेहनत गरेर पढाउंछन्,विद्यार्थी पनि लगनशील र अनुशासित भएर पढ्छन्,विद्यार्थीका अन्तरनिहीत प्रतिभा पनि मज्जाले प्रष्फुटन गराएका छन् तर सरकारीमा यी कुरा पटक्कै छैनन्’—मन्त्री बरालले भने—‘देशको समग्र शिक्षामा सुधार ल्याउन राज्यले नीजि विद्यालयका राम्रा कुराहरु अनुशरण गर्नैपर्छ

मन्त्री बरालले सरकारले नीजि विद्यालयहरुले शिक्षामा पुराएको योगदानको उच्च मुल्यांकन गरेको र त्यसकै फलस्वरुप उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनले पनि नीजि क्षेत्रको शिक्षालाई नियन्त्रण गर्न नहुने सुझाव दिएको स्मरण गराए । सरकारले नीजि विद्यालयहरुलाई दुश्मन र प्रतिस्पर्धी नठानेको बरु राज्यकै एउटा अंग मानेर संगसंगै लिएर जाने नीति बनाएको स्पष्ट पारे । यद्यपि नीजि विद्यालयहरुले राज्यलाई च्यालेन्ज गर्ने नभई सरकारले ल्याएका नीति नियम पालना गरेर भने जानुपर्ने आग्रह गरे ।

हालसम्म कसरी लोकप्रिय हुन सकिन्छ भन्ने हिसाबले मात्रै शिक्षा नीति बनेकाले नेपालको शिक्षा पछि परेको औंल्याउंदै मन्त्री बरालले अब दुरदर्शी र दीर्घकालीन शिक्षा नीति बन्ने बताए । प्रदेश सरकारले शिक्षा नीति बनाउंदा प्याब्सन, एन प्याब्सन जस्ता सरोकारवाला पक्षसंग छलफल गरेर मात्रै बनाउने पनि मन्त्री बरालले स्पष्ट पारे । कार्यक्रममा प्याब्सन प्रदेश ५ अध्यक्ष कृष्ण खनालले प्याब्सन प्रदेश समिति शिक्षाको गुणस्तर सुधार गर्दै अन्तराष्टिय स्तरमा प्रतिस्पर्धी,रोजगारमूलक बनाउन प्रदेश सरकारसंग सहकार्य गर्न तत्पर रहेको स्पष्ट पार्दै प्रदेश सरकारले बनाउने विभिन्न शिक्षा समिति,उपसमिति र शिक्षा आयोगहरुमा प्याब्सनलाई पदेन सदस्य राख्न आग्रह गरे ।

उनले नीजि विद्यालयहरु अझ एकतावद्ध हुन जरुरी रहेकाले आगामी फागुनमा हुने प्याब्सन केन्द्रीय अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न केन्द्रीय नेतेत्वलाई सुझाव दिए । कार्यक्रममा प्याब्सन केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे,वरिष्ठ उपाध्यक्ष डिके ढुंगाना,उपाध्यक्ष निर्मल उपाध्याय,महासचिव राजेन्द्र बानिया,केन्द्रीय सल्लाहकारहरु लोकनाथ उपाध्याय र टिकाराम पुरी, प्रदेश ५ शिक्षा विकास निर्देशनालय उपनिर्देशक भोजबहादुर केसी,निर्वाचन समिति संयोजक नारायण अधिकारी लगायतले राज्यले नीजि विद्यालयमा पढ्ने विद्यार्थीलाई भेदभाव गर्न नहुने धारणा राखेका थिए । प्याब्सन ५ नंं प्रदेश अध्यक्ष कृष्ण खनालको अध्यक्षता,प्रदेश वरिष्ठ उपाध्यक्ष महेन्द्र अधिकारीको स्वागत र महासचिव खेमेन्द्र रानाको संचालनमा कार्यक्रम भएको थियो ।