अमेरिकाद्वारा आइएनएफ सन्धीबाट फिर्ता हुने घोषणा

१९ माघ २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
40 Shares


वाशिङटन – अमेरिकाले रसियासँग भएको इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेज  (आइएनएफ) सन्धी स्थगन गर्ने घोषणा गरेको छ । केहीबेर अघि अमेरिकी विदेशमन्त्री माइक पम्पेओले अमेरिकी विदेश मन्त्रालयमा एक पत्रकार सम्मेलन गर्दै सो घोषणा गरेका हुन् ।

सो सन्धी दुई देशबीच सन् १९८७मा भएको थियो । दोस्रो विश्वयुद्धपछि आणविक शस्त्रास्त्र नियन्त्रणको दिशामा यो सन्धीलाई महत्वपूर्ण मानिदै आएको थियो । यो सन्धी रसियाले उल्लंघन गर्दै आएको भन्दै अमेरिकाले  यसलाई स्थगन गर्ने जनाएको हो ।

सो सन्धीमा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र पूर्व सोभियत संघका तर्फबाट महासचिव मिखाइल गोर्वाचोभले हस्ताक्षर गरेका थिए । सो सन्धी अमेरिकी सिनेटले २७ मे १९८८मा पारित गरेको थियो भने १ जुन १९८८बाट कार्यान्वयनमा आएको थियो । सो सन्धीले ५ सय देखि १००० किमी छोटो दूरी र १ हजार देखि ५ हजार ५सय किमी मध्यम दूरीमा आणविक मिसाइल प्रयोगलाई निषेध गरेको थियो  । यो अवस्थाले गर्दा दुई ध्रुवमा विभाजित विश्वमा झन् खतरनाक अवस्था उत्पन्न हुने आशंका बढेको छ । (एजेन्सी)

फेसबुकबाट तपाईको प्रतिक्रिया