भेनेजुएलाको राजनीतिमा उथलपुथल ल्याउने हुआन गुआइडो को हुन् ?

प्रकाशित मिति:

भेनेजुएला – एक महिना अघिसम्म पनि भेनेजुएलाभित्र र बाहिर धेरैलाई हुआन गुआइडोको नाम समेत थाहा थिएन । तर १० दिनअघि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य देशका नेताले उनलाई देशको वैध राष्ट्रपतिका रूपमा मान्यता दिएपछि उनी एक्कासि चर्चामा आए ।

राष्ट्रपति निकोलस मडुरोको शासनमा भेनेजुएला निरंकुशतातर्फ बढिरहेको अवस्थामा गुआइडोले सुस्त रहेको विपक्षी आन्दोलनलाई पुनर्जागृत गरेका छन् । भेनेजुएलामा लोकतन्त्र पुनर्बहाली गर्न सकिन्छ भनी उनले धेरैमा विश्वास जगाएका छन् । गुआइडो औद्योगिक इन्जिनीयर हुन् र पपुलर विल दलका सांसद पनि । सन् २०१८ को जनवरीमा विपक्षीहरूको बाहुल्य रहेको संसद् नेसनल एसेम्बलीमा उनी विपक्षीहरूको नेता बने । मडुरोले त्यो विधायिकी निकायको शक्ति सन् २०१७ मा खिचेको भए पनि यसको बैठक अझै पनि बस्छ र यसलाई धेरै देशले मान्यता पनि दिएका छन् ।

भेनेजुएलाको संविधानबमोजिम देशमा शक्ति शून्यताको स्थिति आएमा नेसनल एसेम्बलीको नेता राष्ट्रपति बन्छन् । सन् २०१८ को मे महिनामा मडुरोले चुनावमा धाँधली गरेर जितेकाले शून्यताको स्थिति आएको भनी गुआइडो दाबी गर्छन् । (विपक्षीहरूले उक्त निर्वाचन बहिष्कार गरेको र चुनावमा धाँधली भएको भनी दाबी गरिएकाले मतदानलाई अवैध मान्नेको संख्या पनि ठूलै छ । चुनावपछि अमेरिका र युरोपेली संघले भेनेजुएलामा नाकाबन्दी लगाए अनि दक्षिण अमेरिकाका १४ मुलुकले आआफ्ना राजदूत फिर्ता बोलाए ।)

पैंतीस वर्षीय गुइआडोले विभाजित विपक्षलाई एकताबद्ध गरेका छन् र लोकतान्त्रिक संक्रमणमा पुग्ने विषयमा विपक्षीको नयाँ भाष्य बनाउन लागेका छन् भनी जोखिम विश्लेषक डीएगो मोया–ओकाम्पोसले बताएका छन् । गुआइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेका छन् । उनले सेनाको समर्थन लिन खोजिरहेका छन् । उनी राष्ट्रपति बने भने ३० दिनभित्र ताजा निर्वाचन आह्वान गर्नुपर्ने हुन्छ ।

भेनेजुएलाका क्रान्तिकारी समाजवादी नेता राष्ट्रपति ह्युगो चाभेज सन् २०१३ मा क्यान्सरका कारण बितेका थिए । उनले मडुरोलाई आफ्नो उत्तराधिकारी बनाएका थिए । उनको मृत्युको एक वर्षपछि तेलको मूल्यमा विश्वव्यापी गिरावट आएपछि तेलमा पूर्णतः निर्भर भेनेजुएलाको अर्थतन्त्र संकटमा प–यो । यसले गर्दा सामानको अभाव भयो र व्यापक विरोध प्रदर्शन भए । सत्तामा आफ्नो पकड कायम राख्नका लागि मडुरो थप निरंकुश भएका छन् र विरोधको हिंस्रक दमन गरिरहेका छन् । उनले विपक्षीहरूलाई कारागारमा कोच्ने अनि सञ्चारमाध्यममा नियन्त्रण बढाउने काम गरेका छन् ।

खानेकुरा तथा अन्य आयातित सामानको चरम अभाव भएपछि व्यापक भोकमरी छाएको छ । औसत भेनेजुएलावासीको सन् २०१७ मा १० किलो तौल घटेको छ । सन् २०१४ देखि २३ लाखभन्दा बढी मानिस देशबाट पलायन भएका छन् । देशका जासूसी निकायहरूले गुआइडोलाई जनवरी १३ मा पक्राउ गरे तर ४५ मिनेटमै रिहा गरिदिए । अहिले पनि मडुरोले आफू र आफ्नो परिवारलाई लगातार धम्की दिइरहेको गुआइडोले बताएका छन् । यसैबीच देशको सर्वोच्च अदालतले गुआइडोको बैंक खाता रोक्का गरेको छ उनीमाथि विदेश यात्रामा प्रतिबन्ध लगाएको छ ।

गुआइडोका गुरु तथा पपुलर विल दलका नेता लीयोपोल्ड लोपेजलाई सरकारको विरोध गरेकोमा सन् २०१४ देखि नजरबन्दमा राखिएको छ । गुआइडोले पनि सत्तालाई चुनौती दिएकोमा त्यही स्थिति बेहोर्नुपर्ने हुन सक्छ ।  सत्ता प्राप्तिका लागि सशस्त्र बलले मडुरोलाई समर्थन गर्न छोडेर आफूलाई गर्नुपर्ने गुआइडोलाई थाहा छ । तर सेनाले बफादारिता त्याग्ने सम्भावना देखिएको छैन ।

‘सशस्त्र बलहरूले मडुरोलाई दिएको समर्थन लिनुपर्ने कुनै कारण छैन किनकि त्यसो गर्दा उनीहरूले अहिले उपभोग गरिरहेको आर्थिक र राजनीतिक प्रभाव बलिदान गर्नुपर्ने हुन्छ,’ मोया–ओकाम्पोस् भन्छन् । मडुरोको शासनमा सेनाले भेनेजुएलाको तेल, बन्दरगाह, भौतिक संरचना र आधारभूत सामानहरूको आयातमा नियन्त्रण गरिरहेको छ ।

त्यसमाथि सत्ता परिवर्तन भएमा आफूहरूलाई मानवअधिकार उल्लंघनका घटनामा जवाफदेही बनाइने पीर वरिष्ठ सैन्य अधिकारीहरूले लिएका छन् । हालैका वर्षमा सैन्य बलले विरोधको हिंस्रक दमन गरेर मानवअधिकार उल्लंघन गरेका छन् ।

अनि भेनेजुएलाको शक्तिशाली सैन्य जासूसी निकाय डीजीसीआईएमले सेनामा विद्रोह रोक्नका लागि अधिकारीहरूमाथि सर्वेक्षण गर्ने गरेको छ र समस्या ल्याउनेहरूलाई ठेगाना लगाउने गरेको छ । तर सेनाबाट भागेकाहरूले चाहिँ गुआइडोलाई समर्थन गरिरहेका छन् ।

गुआइडोको समर्थनमा प्रदर्शनहरू भइरहेका छन् । त्यसो त भेनेजुएलामा खाद्यान्न अभाव र मजदूरको अधिकारका विषयमा ससाना विरोध कार्यक्रम दिनहुँ जसो हुने गरेका छन् । तर यी प्रदर्शनहरू चर्किंदै गएर सुरक्षा बलको क्षमतालाई नै परीक्षण गर्ने स्थिति आएमा सेनाभित्र चेन अफ कमान्ड भत्किने सम्भावना रहेको मोया–ओकाम्पोस बताउँछन् । ‘त्यसपछि उनीहरूले मडुरोलाई दिएको समर्थन फिर्ता लिने सम्भावना हुन्छ ।’

गुआइडोको व्यक्तिगत जीवनको कुरा गर्दा उनी सन् १९८३ मा एक मध्यमवर्गीय परिवारमा जन्मेका हुन् । उनका सात दाजुभाइ दिदीबहिनी छन् । उनका पिता विमानचालक र आमा शिक्षिका हुन् ।

उनका हजुरबुवा सैनिक अधिकारी हुन् । उनी भेनेजुएलन नेसनल गार्डका सार्जेन्ट थिए भने आमापट्टिका हजुरबुवा जलसेनामा कप्तान थिए ।उनले सन् २००० मा विद्यालय शिक्षा पूरा गरेका हुन् । सन् १९९९ मा भार्गासमा भएको त्रासदीका कारण उनी केही समयका लागि घरबारविहीन भए ।

यही त्रासदीले उनको राजनीतिक विचारधारालाई प्रभावित पारिदियो र उनी समाजवादी दलविरोधी बन्न पुगे । त्यसबेला सत्तामा भर्खर आएको चाभेज सरकारले विपतमा प्रभावशाली प्रबन्ध मिलाउन सकेको थिएन । उनले सन् २००७ मा आन्द्रेस बेल्लो क्याथोलिक विश्वविद्यालयबाट औद्योगिक इन्जिनीयरिङमा स्नातक गरेपछि व्यावसायिक अनुमतिपत्र प्राप्त गरेका हुन् । स्नातकोत्तरको पढाइ उनले अमेरिकाको जर्ज वाशिङटन विश्वविद्यालयबाट सकेका हुन् ।

टाइम पत्रिकाबाट