पूर्वमन्त्रीको अभिव्यक्ति : छोरीको बिहे १६ वर्षभित्रै गर्नुपर्छ, बिग्रिए हाम्रो इज्जत जाँदैन ?

प्रकाशित मिति:

काठमाडौं – पूर्वमन्त्रीसमेत रहेकी प्रदेश २ की सांसद करिमा बेगमले छोरीहरूको विवाह १६ वर्षसम्म गरिसक्नु पर्ने विवादास्पद अभिव्यक्ति दिएकी छिन् । उनको अभिव्यक्ति कानूनविपरित पनि छ । बिहीबारको प्रदेश सभा बैठकमा बोल्दै संघीय सरकारकी पूर्वमन्त्रीसमेत रहेकी बेगमले ढिलो विवाह गर्दा छोरी बिग्रिने र बाबुआमाको इज्जत जाने भएकाले १६ वर्षभित्रै गर्नुपर्ने बताएकी हुन् । सत्तारूढ संघीय समाजवादी फोरमकी सांसद बेगमले २० वर्ष पुगेपछि मात्रै छोरीको विवाह गर्नुपर्ने कानून ल्याएर गल्ती भएको बताइन्।

उनले भनिन्, ‘छोरीहरूको बिहेको लागि २० वर्षसम्म प्रतीक्षा गरियो भने बिग्रने डर भएकोले १६ वर्षभित्रै बिहे गर्नु उपयुक्त हुनेछ।’ छोरीको बिहे २० वर्षपछि गर्ने भएकैले भागी विवाहको संख्या वृद्धि भएको उनको तर्क छ। सांसद बेगमले आमाबुवाको इज्जत जोगाउन पनि कमै उमेरमा विवाह गर्नु उपयुक्त हुने बताईन् । प्रदेश सरकारले नै छोरीहरूको सामूहिक विवाहको आयोजना गर्नुपर्ने बेगमको सुझाव छ। ‘यसबाट गरिब आमाबुवाले आफ्नो छोराछोरीको बिहे कम खर्चमै गर्न सक्छन्,’ उनले भनिन्। यसअघि पनि बलात्कारबारे बेगमले विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। युवतीले लगाउने छोटो कपडाका कारण बलात्कारका घटना बढेको उनको तर्क थियो।