लुईसाङ वाईवा एल्मस्ट अस्पताल सल्लाहकार बोर्डमा नियुक्त ।

प्रकाशित मिति:

अमेरीका \   नेपाली समुदायको तर्फबाट नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्ना का निवर्तमान अध्यक्ष लुईसाङ वाईबा तामाङ सन २०१८ देखि २०२० को लागी एल्मस्ट अस्पतालको कम्युनिटी एडभाइजरी बोर्डमा नियुक्ति भएको छ । एलमस्ट अस्पताल र नेपाली समुदायबीचको सम्बन्धलाई सरल र समुदाय अनुकुल बनाउन तामाङलाई बोर्डमा नियुक्ति गरिएको अस्पतालले जनाएको छ । ‘ ठुलो संख्यामा नेपालीहरुले यस अस्पतालबाट स्वास्थ्य सुविधा ग्रहण गरिरहेको र सुविधा प्राप्त गर्दै गर्दा भाषिक एवं संस्कृतिक जटिलतालाई समुदायको आवश्यकता अनुसार सरल ढंगले सम्बोधन गर्न अस्पतालले नेपाली समुदायको तर्फबाट नियुक्ति गरेको लुइसाङले बताए ।

उनका अनुसार अस्पतालको नीति र कार्यक्रमको बारेमा समुदायसम्म पुर्याउन र समुदायको आवश्यकतालाई अस्पतालको सम्बन्धित निकायसम्म पुर्‍याएर सम्बोधन गराउने कार्य बोर्डले गर्दछ । समुदाय र अस्पतालबीचको सम्बन्धलाई सरल र एड्जस्टेवल बनाउन हाल अस्पतालको कम्युनिटी एडभाईजरी बोर्डमा विभिन्न समुदायका २५ जना अगुवाहरु रहेका छन भने नेपाली समुदायबाट उनी सहित दुई जना अगुवाहरु नियुक्ति भएका छन् । प्रत्येक बोर्ड सदस्यको दुई वर्षको अवधी रहने र एकजना बोर्ड सदस्य बढीमा दुई कार्यवधि रहने व्यबस्था भएको अस्पताल श्रोतले जनाएको छ । सन २००९ देखि न्युयोर्कमा परिवार सहित बसोबास गरिरहेका लुईसाङ वाईबा तामाङ नेपालमा पेशाले प्राध्यापन गर्दथे । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी सिटी युनिभर्सिटी अफ न्युयोर्कबाट अन्तरराष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर गरेका छन् । सन २०१३ मा नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिफनाको नेतृत्व गरेका उनले नेपालीहरुको पहिचानलाई स्थानीय मुलधारमा स्थापित गराउन नेपालको गणतन्त्र दिवसको अवसरमा न्युयोर्क शहरमा पहिलो पटक सन २०१६ मा नेपाल डे परेड सम्पन्न गरेका थिए । त्यस्तै न्युयोर्क शहरमा नेपाली संस्कृतिका विविधतालाई चलचित्र मार्फत प्रदर्शन गराउने उद्देश्यले तामाङकै नेतृत्वमा नेपाल आदिवासी चलचित्र महोत्सव पहिलो पटक न्युयोर्कमा आयोजना गरिएको थियो जुन प्रत्येक वर्ष फिप्नाले आयोजना गर्दछ । सामुदायिक गतिविधिको मुल्यांकन र प्रशंसा गर्दै न्युयोर्क शहरका सिटी कम्पट्रोलर स्कट एम। स्ट्रिन्जरको कार्यालयबाट तामाङको नेतृत्वकालमा फिप्नालाई महत्वपूर्ण सम्मानपत्र प्रदान गरिएको थियो । यस तहको औपचारिक सम्मान पत्र पाउने पहिलो नेपाली संस्था फिप्ना अर्थात् नेपाल आदिवासी जनजाती महासंघ अमेरिका नै थियो ।