नेतृत्वले नैतिकता गुमाएकै कारण संसदमा कांग्रेस कमजोर भयो : कोइराला

प्रकाशित मिति:

विराटनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्वले नैतिकता गुमाएकै कारण संसदमा कांग्रेसको भूमिका कमजोर भएको बताएका छन् ।  नेपाली कांग्रेस विराटनगर महानगर समितिले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले आफूसँग नैतिकता नभएसम्म अरुको नैतिकताका विषयमा प्रश्न गर्ने अधिकार कसैलाई नहुने जिकिर गरे ।

संख्यात्मक हिसाबले संसदमा कांग्रेस कमजोर भएको दाबी गर्दै कोईरालाले आफैँले नैतिकता र इमान्दारिता गुमाइसकेकाले अरुको नैतिकतामाथि प्रश्न उठाउनै नसकेको प्रति नेतृत्वको आलोचना गरे । कोइरालाले कांग्रेसमा अहिले नैतिकता, इमान्दारिता र संस्कारको खडेरी परेको टिप्पणी गरे ।  उनले वर्तमान सरकारले सुशासन र शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाए । कोइरालाले सरकारले गन्तव्य बिर्सिएकै कारण जनताले दुःख पाउने अवस्था सिर्जना भएको दाबी गरे । उनले मुलुकमा भ्रष्टाचार, महँगीसँगै बलात्कार र हत्याका घटना दिन प्रतिदिन बढिरहँदा पनि सरकार चुप लागेर बसेको बताए ।

“मुलुकमा दुई तिहाईको सरकार छ भन्छन् तर खोई दुई तिहाईको सरकार कहाँ छ भनेर जनताले खोजिरहेका छन्,” कोइरालाले थपे, “दुई तिहाईको दम्भका कारण सरकार अद्योगति तर्फ गइरहेको छ ।”  कार्यक्रममा प्रदेश नम्बर १ का संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले आफ्ना गल्ती र कमजोरीहरू सधैं औंल्याइदिन आग्रह गरे ।   उनले आफ्नो क्षेत्रमा सडक निर्माण, रंगशाला, सामुदायिक भवन, बाल उद्यान निर्माण गर्ने योजनाका साथ अघि बढेको उल्लेख गरे । फुसको छानोलाई जस्तापाताको छानोमा परिणत गर्ने उनको दाबी थियो । उनले सुकुम्बासीको व्यवस्थापनका लागि काम भइरहेको जनाए ।  महानगरका मेयर भीम पराजुलीले विकासमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने प्रतिबद्धता जनाए ।