फर्साटिकर कपको उपाधि विश्व शान्तीलाई

प्रकाशित मिति:

दिपक न्यौपाने  बुटवल विश्वशान्ति युवा क्लब सालझण्डीले रुपन्देहीको फर्साटिकरमा सम्पन्न छैटौ टेन्सवर्ग फर्साटिकर कप २०७५ को उपाधि उचालेको छ । शनिबार भएको रोमाञ्चक फाईनल खेलमा सिद्धार्थ युवा क्लब बासगढीलाई २–० गोल अन्तरले पराजित गर्दै विश्वशान्तिले पहिलोपटक उपाधि हात पार्न सफल भएको हो । उपाधिसंगै विश्वशान्तिले नगद १ लाख ५१ हजार, तथा उपविजेता सिद्धाथले नगद ७५ हजार ५ सय, मेडल, प्रमाणपत्र प्राप्त गर्न सफल रह्यो । दर्शकको राम्रो सहभागीता रहेको हेर्नलायक फाईनल खेलमा विश्वशान्तिका विश्वास श्रेष्ठले खेलको २५ औ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । दोस्रो हाफमा खेलमा फर्कने सिद्धार्थका धेरै प्रयासहरु सफल हुन सकेन । खेलको ७६ औ मिनेटमा विश्वशान्तिका पुरन घिमिरेले विजयी गोल गरेका थिए । प्रतियोगितामा सिद्धार्थ युवा क्लबका बेलप्रसाद गुरुङ्ग सर्वोत्कृष्ट खेलाडी, विश्वशान्तिका विश्वास श्रेष्ठ हाई स्कोरर, सिद्धार्थ युवा क्लबका शिव गुरुङ्ग उत्कृष्ट गोलकिपर, फर्साटिकरका आयुष आचार्य राइजिङ्ग प्लयेरबाट पुरस्कृत भएका थिए । vगतवर्ष भने आयोजक फर्साटिकरले उपाधि जितेको थियो । एक कार्यक्रमका बिच क्लबका अध्यक्ष मुकेश कुवर, शुद्धोदन गाउपालिका अध्यक्ष किशुनचन्द चौधरी, जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसी, क्लबका संरक्षक चक्रबहादुर कुवर, सल्लाहकार मित्रबन्धु गौडेल, उपाध्यक्ष अर्जुन थापा क्षेत्रीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । रुपन्देहीमा स्थानीय खेलाडीहरुलाइ प्रोत्साहन गर्न फर्साटिकर कपले ठुलो योगदान रहँदै आएको छ ।