विद्यालयमा खानेपानीको चरम समस्या भएपछी …

प्रकाशित मिति:

बाजुरा  (रासस) –  जिल्लाको बूढीगङ्गा नगरपालिका– १ मा रहेको कुँडीकोट आधारभूत विद्यालयमा खानेपानीको समस्या भएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र दिपायल शाखाले २०६२÷०६३ मा साविक आटिचौर गाविसको हाँडेखोलाबाट सौर्य उर्जाबाट पानी तानेर खानेपानी उपलब्ध गराए पनि अहिले सो सुविधा बन्द हुँदा विद्यालयलाई खाने पानीको समस्या भएको हो ।  पानी खानकै लागि छात्र छात्रालाई आधा घण्टासम्म पैदल यात्रा गर्नुपर्ने भएकाले विद्यार्थीको दैनिक पठनपाठनमा समेत असर परेको प्रधानाध्यापक कृष्णाकुमारी सिंहले जानकारी दिनुभयो ।

तल बस्ती माथि सुख्खा डाँडोमा विद्यालय भएका कारण कतै पानीको मुहान नभएको र टाढाबाट पानी ल्याउन ठूलो योजना नपरेको हुँदा खानेपानीको समस्या भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरभान परीले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाको सबै भन्दाबढी खानेपानीको समस्या भएको कुँडीमा, चुनावको बेलामा विभिन्न राजनीतिक दलले भोट माग्नका लागि खाने पानीलाई नै चुनावी मुद्दा बनाए पनि अहिलेसम्म कसैले पनि गाउँ र विद्यालयका लागि खानेपानीको योजना ल्याउन पहल गरेका छैनन् ।  बूढीगङ्गा– १ माथिल्लो कुँडीमा बसोवास गर्दै आएका २५६ घरपरिवारले पनि खानेपानीको निकै सास्ती व्यहोर्नु परेको स्थानीय अम्भा ल्वारले बताउनभयो ।