विद्यार्थी भिसामा अमेरिका जाँदै हुनुहुन्छ ? सावधान, सरकारी स्टीङ अपरेशनको जालमा पर्नुहोला

प्रकाशित मिति:

काठमाडौं –विद्यार्थी भिसामा अमेरिका जाने र उतै काम गर्ने र ‘सेटल’ भएर बस्ने सोच्नु भएको छ भने सावधान रहनुहोला । तपाईंले आवेदन गरेको विश्वविद्यालय अमेरिकी होमल्याण्ड तथा अध्यागमन विभागको स्टीङ अपरेशनको एक भाग हुन सक्छ र तपाईं पक्राउ पर्न सक्नुहुनेछ ।

यस्तै, खालको घटना हालै भएको छ । विद्यार्थी भिसामा गएर गैरकानुनी रुपमा अमेरिकामा काम गर्न र बस्न खोज्नेहरुलाई जालमा पार्न इमिग्रेसन तथा कस्टम्स इन्फोर्समेन्ट एजेन्सी (आइसीई) ले युनिभर्सिटी अफ फार्मिङटन नामक नक्कली विश्वविद्यालय खोलेकामा १ सय २९ भारतीय विद्यार्थी यस्तै जालमा परेका हुन् ।

यस्तो नक्कली विश्वविद्यालय सन् २०१५ बाट चलाइएको थियो । यसको एउटा वेबसाइट पनि थियो । यो वेबसाइटमा कक्षाकोठा र लाइब्रेरीमा विद्यार्थीले पढिरहेको तस्बिर राखिएको थियो । यहाँ भर्ना हुन अण्डरग्राजुएट कोर्सका लागि एक वर्षको ८ हजार ५ सय र ग्राजुुएसनका लागि ११ हजार डलर तोकिएको थियो । विश्वविद्यालयको एक नक्कली फेसबुक पेज पनि छ । तर गत साता सार्वजनिक तथ्यअनुसार विश्वविद्यालयमा काम गर्नेहरु अधिकांश अध्यागमन निकायका अण्डरकभर एजेन्ट थिए । मिसिगनको डेट्रोइटमा यो विश्वविद्यालयको एक कलेज पनि छ ।

मिसिगनको जिल्ला अदालतमा पेश गरिएको आरोपपत्रमा गैरकानुनी हो भन्ने थाहा हुँदाहुँदै पनि ती विद्यार्थी भर्ना भएको उल्लेख छ । विश्वविद्यालयले पैसा लिएर अमेरिका रहने बन्दोबस्त गर्ने स्कीम पनि लागू गरेको थियो, जुन अमेरिकामा वैध तरिकाले आएपनि बस्न र काम गर्न गलत तरिका अपनाउनेहरुलाई पत्ता लगाउन प्रयोग गरिएको थियो । अमेरिकी अध्यागमन अधिकारीहरुले १ सय ३० जना पक्राउ गरेकामा १ सय २९ भारतीय रहेका छन् । दोषी ठहरिए उनीहरुलाई देश निकाला गरिने बताइएको छ ।