२० बर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ !

प्रकाशित मिति:

दाङ – जिल्ला प्रहरी कार्यालयले झन्डै २० बर्ष कैद सजाय तोकिएका एक जना फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । जिल्लाको साविक पुँजा गाविस वडा नं. १ गोसाइँखेत निवासी विज्ञान केसीलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको अभियोगमा प्यूठान जिल्ला अदालत वाट दोषी ठहर भएका ३३ वर्षीय रमेश मल्ललाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

ज्यान सम्वन्धि मुद्दामा जिल्ला अदालत प्यूठानले २०७२ भदौ २८ गतेको फैसला अनुसार मल्ललाई दोषी ठहर गर्दै १९ वर्ष ११ महिना ५ दिन कैद सजाय तोकेको थियो । २०६९ पुस ३ गते मल्लले साँझ सवा ८ बजेतिर केसीको हत्या गरेका थिए । मल्ललाई आइतबार रातको ९ बजेतिर बुटवल उपमहानगरपालिका वडा नं. –१२ नयाँ गाँउमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरिक्षक देवीप्रसाद पौडेलले जानकारी दिएका छन् । पक्राउ परेका मल्ललाई जिल्ला अदालतको आदेश अनुसार सोमबार नै कारागार चलान गरिएको प्रहरीले बताएको छ ।