लिगलिगकोटबाट प्याराग्लाइडिङ उडानको परीक्षण

प्रकाशित मिति:

गोरखा । पालुङटार नगरपालिका–५ माझटारमा प्याराग्लाइडिङ उडानको परीक्षण गरिएको छ । लिगलिगकोटबाट सोमबार तीन वटा उडान गरिएको गोरखा उद्योग बाणिज्य संघ पालुङटार बजार इकाइले जनाएको छ ।पालुङटार नगरपालिका–५ माझटारमा हुने पहिलो पालुङटार लिगलिग महोत्सवका लागि प्याराग्लाइडिङ परीक्षण गरिएको हो । ‘महोत्सवमा प्याराग्लाइडिङ पनि समावेश गरेका छौ, सम्भव हुन्छ की हुदैन भनेर आज उडान परीक्षण गरेका हौं,’ इकाइका अध्यक्ष आशिष देवकोटाले भने, ‘उडान सफल भयो ।’स्थानीय कला र संस्कृतिको संरक्षण सँगै पर्यटन प्रवर्द्धनका लागि महोत्सव गर्न लागिएको उनको भनाइ छ ।

फागुन ३ देखि १२ गते सम्म चल्ने महोत्सवमा ‘पालुङटार सिंगिङ एण्ड डान्सिङ स्टार’, औद्योगिक प्रर्दशनी, हस्तकला प्रदर्शनी, कृषि प्रर्दशनी, खाना महोत्सव, सांस्कृतिक भेषभुषा प्रर्दशनी, हास्यव्यंग्य र मनोरन्जनात्मक कार्यक्रम हुने देवकोटाले जानकारी दिए । ‘नगरका वडाहरुबीच सद्भाव बढाउन वडा स्तरिय डोरी तान्ने प्रतियोगीता पनि राखेका छौ,’ उनले भने ।महोत्सवको तयारी करिव ८० प्रतिशत सकिएको आयोजकले जनाएको छ । महोत्सवमा करिव डेढ सय स्टल रहनेछन् ।

महोत्सवको करिव ४५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव स्थल प्रवेशका लागी सर्वसाधारणलाई ५० र बिद्यार्थीका लागी ३० रुपैयाँ रकम निर्धारण गरिएको छ ।बृद्धबृद्धाको हकमा भने शुल्क तिर्नुनपर्ने इकाइका अध्यक्ष देवकोटाले बताए । महोत्सवबाट बचेको रकमले पालुङटार नगर क्षेत्रमा अत्यावश्यक बहुउद्देश्यीय सभा हल निर्माणको थालनी गर्ने आयोजकको योजना छ ।नगर क्षेत्र भित्रका उद्योग व्यापार व्यवसाय प्रवर्द्धनका कार्यक्रम संचालन गर्ने र पर्यटनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । महोत्सवका लागि करिब ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।