आगलागी हुँदा ८ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

प्रकाशित मिति:

फ्रान्स– फ्रान्सको राजधानी पेरिसमा सोमबार राति आगलागी हुँदा ८ जनाले ज्यान गुमाएका छन् भने तीनजना अग्निनियन्त्रकसहित ३० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् । नेपाली समयानुसार मंगलबार बिहानको करिब तीन बजे एक भवनमा आगलागी भएको थियो । अहिलेसम्म आगो लाग्नुको कारण पत्ता लाग्न नसकेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

आगो लागेको सूचना पाएपछि त्यहाँ पुगेका अग्नि नियन्त्रकहरुले त्यहाँ आसपासका भवन तथा ब्लकहरु खाली गराउने र बाटो खुलाउने काम गरेका थिए । आगो धेरै नै फैलिसकेकाले अग्नि नियन्त्रकहरुलाई आगो निभाउन घण्टौ लागेको थियो । आगो नियन्त्रण गर्नको लागि २०० जना अग्निनियन्त्रक घटनास्थलमा पुगेका थिए । आगलागीबाट कति धनजनको क्षति भयो भन्ने कुनै अनुमान गर्न नसिकएको अधिकारीहरुले बताएका छन् ।

अग्निनियन्त्रण सेवाका प्रवक्ता क्लेमेंट काग्ननले भनेका छन्, ‘धुवाँ र आगोको ज्वालाबाट बच्न मानिसहरु छतको सहारा लिएर बसेका थिए ।’ उनले भने, ‘प्रभावित मानिसहरुलाई बाहिर निकालेका छौँ ।’ आइफिल टावर, पेरिस सेन्ट जर्मेनजस्ता पर्यटकीय स्मारक रहेको यो क्षेत्र पर्यटकहरुबीचमा निकै नै लोकप्रिय मानिन्छ ।