रुकुम पूर्वको सदरमुकाम विवाद : गोलखाडामा शक्ति प्रदर्शन, रुकुमकोटमा निषेधाज्ञा कायमै

प्रकाशित मिति:

रुकुम पूर्व – रुकुम पूर्वको सदरमुकाम गोलखाडा बनाउने सरकारको निर्णय कार्यान्वयनको माग गर्दै रुकुम पूर्वको गोलखाडा पक्षधर स्थानीय बासिन्दाले गोलखाडामा शक्ति प्रदर्शन गरेका छन् । झण्डै ६ हजार स्थानीयले नारा जुलुससहित पुथा उत्तरगंगा गाउँपालिकाको वडा नं. १२ स्थित गोलखाडामा प्रदर्शन गरेका हुन् ।

शक्ति प्रदर्शनपछिको कोणसभालाई जिल्ला नेता पुणीराज घर्ती, जितमान पुनलगायतले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा सरकारको निर्णय कार्यान्वयनका लागि दबाब दिनुपर्ने र अदालतमा विचाराधीन मुद्दा आफ्नै पक्षमा फैसला हुने आशा व्यक्त गरेका छन् ।

उनीहरुले सरकारी निर्णय कार्यान्वयनको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका छन् । नेता पुणीराज घर्तीका अनुसार, कोणसभापछि झण्डै ६ हजारको संख्यामा रहेका स्थानीयवासी नाराजुलुसहित रुकुमकोटतर्फ प्रस्थान गरेका छन् । प्रदर्शनीकारी प्रदर्शनसहित रुकुमगाडसम्म पुग्ने र प्रतिनिधिहरु जिल्ला प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाउने गरी तयारी गरिएको घर्तीले जानकारी दिनुभयो । प्रदर्शन गर्दै आज भुमे गाउँपालिकासम्म पुग्ने जनाइएको छ ।

रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिका–१२, गोलखाडामा राख्ने निर्णय गरेको थियो । देउवा नेतृत्व सरकारको त्यस निर्णयविरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि केही शान्त भए पनि यही १४ गतेबाट पुनः आन्दोलनका कार्यक्रमहरु सुरु गरिएको छ ।

रिट दर्ता भएको एक वर्षसम्ममा पनि सर्वोच्च सरकार र रिट निवेदकलाई पटक–पटक पेशी र साधारण तरिकाले बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन । सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाई सर्वोच्चले आउँदो २७ गते बोलाएको छ ।

रुकुमकोटमा निषेधाज्ञा कायमै

रुकुम पूर्वको रुकुमकोटमा प्रशासनले लगाएको निषेधाज्ञा कायमै छ । सदरमुकामको विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले आइतबार साँझ ७ बजेबाट अनिश्चित कालका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले निषेधाज्ञा कायमै रहेको जनाउनुभयो ।

सदरमुकामका लागि रुकुमकोटका र गोलखाडाबासीले आ–आफ्ना आन्दोलनका कार्यक्रमहरु गर्न नछोड्ने अडान लिएपछि चार किल्ला तोकी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रुकुमकोटको चार किल्लामा कुनै पनि किसिमका सभा, जुलुस, भेला तथा प्रदर्शनका कार्यक्रमहरु गर्न गराउन निषेध छ । प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका ५ को धौलापहिरा, पश्चिममा रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका–६ को रुकुमगाड हुँदै धाउनेको पारीघट्ट र दक्षिणमा सिस्ने गाउँपालिका–५ को शहीदपार्क हँुदै रुमालबारासम्म निषेधित क्षेत्र घोषणा जारी गरिएको प्रजिअ शर्माले बताउनुभयो । सदरमुकामको विषयलाई लिएर रुकुमकोट र रुकुमकोट आसपासका नागरिकहरु पनि आन्दोलित छन् । रुकुमकोट पक्षधरहरु रुकुमकोटबाट सदरमुकाम नसार्न आन्दोलित छन् भने गोलखाडाबासी भने सरकारले रुकुम पूर्वको सदरमुकाम सार्नलाई गरेको निर्णय कार्यन्वयनको लागि सक्रिय छन् ।