महिलालाई आत्मनिर्भर गराउन सुर्केथैली बनाउने तालिम

प्रकाशित मिति:

महिलाहरुको क्षमता अभिबृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले उद्योग व्यापार संगठन रुपन्देही अन्तर्गत महिला उद्यमी संगठनको आयोजनामा भैरहवामा मंगलबार एक दिने नेपाली सुर्केथैली बनाउने तालिम सम्पन्न भएको छ । तालिममा ३० बढी महिलाहरुको सहभागिता थियो ।

तालिमको उद्घाटन गर्दै संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले महिलाहरु आर्थिक रुपमा सबल नहुँदासम्म अधिकार प्राप्तीका मुद्धाहरु पनि पछि पर्ने बताए । उनले दक्षताअनुसार एउटा न एउटा उद्यममा लाग्न आग्रह गर्दै आफू सबल, सक्षम र सम्पन्न भए घरपरिवार, समाज र सिंगो राष्ट्रलाई समृद्धि बनाउन सकिने बताए । भण्डारीले व्यापार संगठनले महिलाहरुलाई सक्षम गराउन आगामी दिनमा निरन्तर उद्यमशीलका कार्यक्रमहरु गरिरहने बताए । संगठनका निवर्तमान अध्यक्ष खिमबहादुर खत्रीले उद्यमशील कार्यक्रमहरुले महिलाहरुलाई आत्मनिर्भर उन्मुख बनाउने र पेशा व्यवसायमा लाग्न प्रेरित गर्ने बताए । उनले तालिममा सिकेको सीपको सदुपयोग गर्न आग्रह समेत गरे ।

महासचिव अनिलकुमार ज्ञवालीले नेपाली सुर्केथैली बनाएर मात्रै आत्मनिर्भर नभए पनि सीप सिकिसकेपछि केही न केही व्यवहारमा पनि उतार्नु पर्नेमा जोड दिए । उनले सहभागीहरुले सिकेको सीप आफ्नो व्यवसायमा प्रयोगमा ल्याए कि ल्याएनन् भनेर संगठनले केही समयपछि अनुगमन गर्ने जनाउँदै सबैलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे । उद्यमी महिला संगठन अध्यक्ष एवं कार्यक्रम संयोजक उषाकिरण गुरुङ्ले आफ्ना सदस्यहरु उद्यमी भई आत्मनिर्भर बनुन् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइन् ।

विन्दु न्यौपानेको संचालन, कल्पना न्यौपानेको स्वागतमा भएको कार्यक्रममा संगठनका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मी, सचिवालय सदस्य कृष्णबहादुर गुरुङ्, महिला सदस्य दुर्गा श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । तालिममा सहभागीहरुले सिकेको कुरा व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाएका थिए । तालिमको कल्पना चौधरीले सहजीकरण गरेकी थिइन् ।