बहुमतको दम्भमा विवेक नगुमाउन कांग्रेस नेता शर्माको सरकारलाई सुझाव

प्रकाशित मिति:

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बहुमतको दम्भमा विवेक नगुमाउन सरकारलाई सुझाव दिएका छन् । नेपाल प्रेस युनियन सर्लाही शाखाले मंगलबार हरिवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता शर्माले बहुमतका आधारमा विवेक कुल्चिएर अघिबढे सरकार अप्ठेरोमा पर्न सक्ने बताए। प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा डा गोबिन्द केसीसँग गरिएका सहमति विपरीत संसदमा चिकित्सा शिक्षा विधेयक पेश गरिएको आरोप लगाए। प्रमुख प्रतिपक्ष दलको विरोध हुँदाहुँदै जबर्जस्ती चिकित्सा शिक्षा विद्येयक पेश गरिएको, बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न चासो नदिएको, वाइड बढी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारको घटना लुकाउन सरकार लागि परेको जस्ता कारणले कांग्रेस देशव्यापी आन्दोलनमा उत्रिनु परेको कांग्रेस प्रवक्ता शर्माले प्रष्ट पारे।उनले पाँच वर्षलाई साशन चलाउने जिम्मेवारी पाएको वर्तमान सरकारलाई सच्चिएर अघि बढ्न आग्रह गरे । प्रवक्ता शर्माले निर्मला पन्त काण्डमा सरकार दोषीलाई पत्ता लगाउने भन्दापनि निर्दोषलाई बुर्का ओढाएर दोषी बनाउने काममा लागेको आरोप लगाए।भेनेजुएलाको सन्दर्भमा सरकारले आलाकाँचो र ठिटौले पारा देखाएको भन्दै कांग्रेस प्रवक्ता शर्माले यस्ता विषयमा बोल्दा परराष्ट्र नीतिको जगमा रहेर विचार पुर्‍याएर बोल्न सुझाव दिए ।