निकिता पौडेलले दिइन् राजीनामा

प्रकाशित मिति:

काठमाण्डौ – चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छिन् ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पष्टीकरण माग गरेसँगै उनले मंगलबार राजीनामा दिएकी हुन् । अध्यक्ष पौडेलले बुधबारबाट लागू हुनेगरी राजीनामा दिएको फेसबुकमा प्रेस वक्तव्यमाफर्त जानकारी दिएकी छिन् । उनले विज्ञप्तिमा नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको सुरुवात गर्ने अवसर आफूलाई प्राप्त हुनु र बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनु आफ्नो लागि अवसर रहेको बताएकी छन् । उनी २०७४ साल मंसिर २५ गते खुल्ला प्रतिस्पर्धाबाट चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएकी थिइन् ।

उनलाई चौमासिक समीक्षा बैठकका लागि पत्राचार गरिएको थियो । पत्राचार गर्दा पनि बोर्डमा उपस्थित नभएको र अनुपस्थितिबारे कुनै जानकारी पनि नगराएको भन्दै  मन्त्रालयले स्पष्टीकरण मागेको थियो । उनी स्वीकृतिबिनै बिदा बस्ने गरेको र बैठकमा उपस्थित नहुने कारणले सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटा रुष्ट भएको बताइएको छ ।मन्त्रालयले आर्थिक वर्ष २०७५–०७६ का लागि चौमासिक समीक्षा बैठक राखेको राखेको थियो । तर, बैठकमा बोर्ड अध्यक्ष पौडेल अनुपस्थित थिइन् । चलचित्र विकास बोर्डको प्रगति सुनाउने कुरामा बोर्ड अध्यक्ष अनुपस्थित भएपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस विषयमा प्रश्न सोधेका थिए ।

मन्त्रालयले बोर्डको काम सन्तोषजनक नभएका कारण पनि स्पष्टीकरण माग गरेको बुझिएको छ । पौडेलले हालैमात्र पत्रकार रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी थिइन् ।राजीनामासँगै पौडेलले आफूले पछिल्लो तीन महिनामा प्राप्त गरेको तलब रवि लामिछानेको संयोजकत्वमा बन्दै गरेको कालिकोटको रास्कोट अस्पताललाई दिने जनाएकी छिन् ।उनी लेख्छिन्, ‘नेपाल सरकारबाट मैले प्राप्त गरेको पछिल्लो ३ महिनाको आफ्नो सम्पूर्ण तलबबापतको रकम मेरा श्रीमान रवि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिन चाहन्छु । योसँगै अबको मेरो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालका लागि समर्पित गर्ने कुराको पनि जानकारी गराउँदछु ।’