फेब्रूवरी फिभर ( February fever day ) डे के हो ?

प्रकाशित मिति:

हरेक वर्षको फ़रवरी १४ तारीखका दिन यो दिनलाई  प्रेमदिवस  अर्थात “प्रणय दिवस” का रूपमा मनाईने गरिन्छ । अमेरिका, यूरोप र अष्ट्रेलियामा विशेष रूपमा मनाईने यो दिवस हिजोआज विश्वभरिनै मनाईन्छ भने नेपाल पनि प्रेमको मामलामा किन पो पछि पर्थ्यो र ?

पृष्ठभूमि:
तेश्रो शताब्दीको कुरा हो । रोम साम्राज्यमा राजा क्लडियस द्वितीयले राज्य गर्थे । उनि युद्धपिपासु र दंभी प्रवृत्तिका राजा थिए । आफ्नो शासनकालमा उन्ले एउटा कठोर किसिमको सैन्य क़ानून पारित गरे जस अनुसार सेनामा भएका नागरिकहरूले विवाह गर्न नपाउने र विवाहित नागरिकले सेनामा भर्ती हुन नपाउने निषेधाज्ञा जारी भयो । फलस्वरूप सेनाहरूमा नैराश्यको भावना पैदा भयो । राजाको मान्यता के थियो भने विवाहितहरू सेनामा भएको बखत पनि घर परिवारकै यादमा हुन्छन, उनिहरूलाई छुट्टी पनि धेरै चाहिन्छ र विवाह गरे पश्चात वीर्यनाश भइ लड़ने क्षमतामा पनि कमी आउँछ । अत: सेनामा भर्ती भएपछि विवाह गर्न नपाउने र विवाह गरेका हरूले सेनामा भर्ती हुन नपाउने कड़ा क़ानून बन्यो । यसै बीच उन्को सेनामा भेलेन्टाईन(Valentine) नाम गरेका एकजना क्रिश्चियन पादरी (पुरोहित) रहेछन ।उन्ले गोप्यरूपमा सेनाहरूको विवाह गरि दिंदा रहेछन। सेनाभित्र र बाहिर पनि यसरी विवाह गरि दिएर उन्ले प्रेमीहरूको उद्धार गरि दिँदा रहेछन । यो रहस्य थाहा पाए पछि राजा क्रुद्ध भएर भेलेन्टाईनलाई कारागारमा जाकि दिएछन र फाँसी दिने भएछन। मृत्युदण्डको मिति तोकिनु पूर्वनै भ्यालेन्टाईन आँफै पनि कारागारमै रहेका बेला जेलरकी छोरीको प्रेममा फँसेछन । यद्यपि जेलरकी छोरी अन्धी थिईन तर पनि उनीहरूका बिचमा गहिरो प्रेम पलाएछ । जेलमा उनीसंग प्रेमिकालाई दिने कुनै उपहार थिएन न त प्रेमपत्र लेख्ने क़लमनै थियो । आफ्नी प्रेमिकालाई गुमाउनु परेको पीडामा मृत्युदण्ड पाउने अघिल्लो दिन उन्ले एउटा कविता लेख्ने सुर कसेछन तर साथमा क़लम अथवा अन्य कुनै औज़ार रहेनछ । अन्ततोगत्वा, सेतो फूल फूल्ने एउटा बैजनी बिरूवा (violet flower ) टिपेर त्यसको रसले औँलाको प्रयोग गरेर प्रेमपत्र लेखेछन कवितामा र त्यो प्रेमपत्र पढने प्रयास गर्दा गर्दै ती अन्धी प्रेमिकाका आँखा खुलेछन र त्यो पवित्रप्रेम महान भए़छ भन्ने रोचक प्रसंग पनि पाईन्छ ।कविता कोरेर पत्रको अन्त्यमा उन्ले लेखेका रहेछन:
From your Valentine

मृत्युदण्ड त दिईयो तर उन्को प्रेमप्रसंग प्रख्यात भयो त्यसैबेला देखि इतिहासमा र अहिले त झन यस्लाई फेब्रूवरी फिभर डे February Fever Day अर्थात भेलेन्टाईन डे (Valentine’s Day ) का रूपमा यत्र, तत्र सर्वत्र मनाईन्छ । भेलेन्टाईनको मृत्यु पश्चात क्याथोलिक धर्मावलम्बी हरूले पछि गएर यो विशेष दिनलाई चाडका रूपमा मनाउन थालेछन । यहि दिन अर्थात फ़रवरी १४ मा उन्लाई मृत्यु दिएको हुनाले उन्को पवित्र प्रेमको सम्मानमा विशेष गरि युवा- युवती हरूले र प्रेमका पारखी हरूले यो दिन विशेष उत्साहका साथ मनाउने गर्छन। स्मरण रहोस: यहि महिनाको १४ तारीख देखि प्रेम चराहरू पनि एकापसमा भेट्ने र प्रेमालाप गर्ने गर्छन भन्ने विश्वास गरिन्छ ।

प्रेम के हो त ? किन एकापसमा प्रेम हुन्छ ? प्रेम  केवल एउटा शब्द मात्रै हैन अपितु संजीवनी हो । यो यस्तो एउटा पवित्र शब्द हो जस्को सम्पूर्ण अर्थ बुझ्न सके जीवन निर्मल हुन्छ । प्रेम स्वत:स्फूर्त हुन्छ । यो मनमा पलाउने कृया र प्रतिकृया हो जुन व्यक्तिको मनोविज्ञानसंग सम्बन्धित हुन्छ ।प्रेम एउटा अद्भुत अनुभव हो । यो आत्मीयता, पवित्रता, प्रतिबद्धता, लगनशीलता र निरन्तरतामा पलाउने र हुर्किने तत्व हो । प्रेमभावले मानव मस्तिष्कमा Endorphin नामक एउटा हॉर्मोनतत्व पैदा गराउँछ ।  फलस्वरुप उ खुशी हुन्छ र अरूलाई पनि प्रेमभावले खुशी तुल्याउने प्रयत्न गर्छ । यस्को नियमित प्रयोगले जीवनमा उर्जा, सकारात्मकता र गतिशीलता ल्याउँछ ! एउटा व्यक्तिको जीवनमा प्रेमरसले विस्मयकारी परिवर्तन ल्याउन सक्छ । आश्चर्य मान्नु पर्दैन तर कटु सत्य के हो भने प्रेमको अभावमा एउटा व्यक्तिले आत्महत्या गर्ने प्रबल संभावना हुन्छ भने जीवन समाप्त गर्ने निर्णयमा पुगेको अर्को व्यक्ति प्रेमको पुकारमा अर्थात कसैले प्रेम गर्छु भन्यो भने त्यो निर्णय परिवर्तन पनि गर्न सक्छ । प्रेमको ठूलो महत्व र भूमिका हुन्छ । प्रेम “आशीर्वाद “ हो । तर यो अनुभुतिलाई उपयुक्त समयमा, उपयुक्त पात्रका निम्ति , उपयुक्त ढंगले निश्चित प्रयोजनका निम्ति सदुपयोग गर्नु पर्छ; दुरूपयोग गरियो भने अभिशाप बन्छ । टयसमा सौदाबाजी, शर्त, सीमा र परिधि हुँदैन ! जात, धर्म, वर्ण, लिंग, सम्प्रदाय, उमेर, धन/ दौलत र भूगोल आदि विविध संकीर्ण सीमाहरू नाघेर एउटा सुन्दर संसारको परिकल्पनामा यो “ प्रेम” भन्ने पवित्र शब्दले आफ्नो साम्राज्य विस्तार गर्छ र नवसंचार गर्छ सम्बन्धित व्यक्तिहरूमा । यो निराकार हुन्छ र निशब्द पनि हुन सक्छ तर कालान्तर सम्म जीवित हुन्छ । उदाहरणको निम्ति “कृष्णलीला” नै पर्याप्त छ । आज पनि कृष्णलीलाको महिमा जन- जन, मन-मन र पवनमा समेत मिसिएको छ र एकजना पवित्र प्रेमका उपासकले स्वार्थरहित प्रेमकृडा मार्फ़त सोर्ह सय गोपिनीको मनमन्दिरमा बास गर्न सफल भएका थिए र गोपिनी हरूपनि एकापसमा खुशी थिए । कसैले पनि कसैलाई प्रेम गर्न सक्छ तर त्यसमा बासना, चाहना,र काया मिसिएको हुनु हुँदैन ।
हुन्छ त केवल तृष्णा ! पवित्र प्रेम प्रतिको तृष्णा । अधिकाँश मानिसहरूले प्रेमलाई यौनसंग जोडेर हेर्छन जुन सर्वथा ग़लत छ ! प्रेम र यौन दुईवटा छुट्टै विषय हुन । प्रेममा यौन मिसिनै पर्छ भन्ने छैन र मिसिए पछि सम्बन्ध बिग्रिने प्रबल संभावना पनि रहन्छ यदि त्यो प्रेम प्राकृतिक नभएर कृत्रिम र अस्थायी प्रकृतिको रहेछ भने । वास्तविक प्रेम देह/ शरीरसंग नभएर आत्मा, विचार, भावना र उस्को मनोवृत्तिसंग हुन्छ । प्रेमले व्यक्तिको जीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्छ । देहसंगको मात्रै प्रेम क्षणिक, उत्ताउलो र अस्थायी प्रकृतिको मात्रै हुन्छ भने आत्मा, भावना, विचार र जीवनदर्शन संग सम्बन्धित र उत्सर्गित प्रेम सजीव, अमर र दीर्घकालीन हुन्छ ! स्वार्थसंग जोडिएको प्रेम खहरे खोलो जस्तो हुन्छ भने प्राकृतिक प्रेम निर्मल गंगा र विशाल झर्ना जस्तो हुन्छ । वास्तविक प्रेम नि:स्वार्थ, चिरस्थायी र निश्चल हुन्छ । प्रेम एउटा अन्तर्निहित भावना र उद्वेलित अनुभव हो। यो आँफै अकस्मात् पलाउँछ र हुर्किँदै जान्छ तर यस्लाई हुर्काउन मल-जल र गोडमेल गर्नु पर्छ । अर्थात सत्गुण हरूले मलजल र बद्गुणहरूलाई आफ्नो जीवनबाट फाल्दै जानु पर्छ ! सच्चाप्रेम निरपेक्ष हुन्छ । सच्चा प्रेमीले कुनै एक व्यक्ति विशेषलाई माया गर्दैमा अरूलाई घृणा कहिल्यै कदापि गर्दैन ।शारिरिक, मानसिक, आवेगिक र आध्यात्मिक तवरले स्वस्थ एउटा व्यक्तिले संसारमा भएका सबै प्राणी हरूलाई (मानिसको त कुरै भएन )माया गर्छ र गर्नु पर्छ । सबैप्रति माया हुनु एउटा उच्च मानवीय गुण हो । प्रेमपूर्ण व्यक्तिले कसैबाट कुनै कुराको अपेक्षा गर्दैन परन्तु सबै प्रति समभाव, स्नेह र आदरभाव राख्छ ! उक्त व्यक्तिले सदैव कल्याणकारी भाव र स्वभावमा ममता र समताको बीज छर्दै आँफू पनि सदैव आनन्दित र प्रफुल्लित हुने प्रयत्न गर्छ र अरूको जीवनमा पनि आशाको दियो बालिदिन्छ ।

प्राकृतिक प्रेम कोसंग कसरी पलाउँछ त ?

सबैभन्दा पहिले मन मिल्नु पर्छ ! मन अमूर्त हुन्छ । एउटाको मनमा तरंगित भएका विचार, भावना र अनुभुतिहरू अर्काको मनमा भएका सुप्त विचार र कनिका हरूसंग मेल खाएर भित्रभित्रै उद्वेलित र प्रखर भएर आए र निरन्तर अंकुरित हुँदै गए भने प्रेम पलाएछ भन्न सकिन्छ। कसैले भेट गराई दिएर अथवा देखाई दिएर प्रेम हुँदैन । त्यसैले समय चाहिन्छ र संवाद गर्नु पर्छ । संवाद बिनाको प्रेम र प्रेम बिनाको संवाद निरस र निरर्थक हुन्छ । यो प्रेम  भन्ने विषय विशाल र अनन्त छ । विश्वका प्रख्यात साहित्यकार हरूले यस विषयमा अनेक गीत, कविता, निबन्ध, उपन्यास, ग़ज़ल, मुक्तक, काव्य, महाकाव्य लेखि सकेका छन, लेख्तैछन र परन्तुमा पनि लेख्ने छन । यस्को महिमा अपरम्पार छ । संकुचित र स्वार्थयुक्त प्रेमको कुरा गर्नु समयको बर्बादी र निरर्थक भएकाले यहाँ लेखिन । भुक्तभोगी पाठक हरूसंग आ-आफ्नै अनुभव हरूनै पर्याप्त होलान भन्ने हेतुले केवल हिन्दी साहित्यका धुरन्धर कवि कबीरदासको एउटा दोहा मार्फ़त यो लेखलाई बीट मारेँ ।

पोथी पढि पढि जग मुवा, पंडित भया न कोय
ढाई अक्षर प्रेम का पढ़े सो पंडित होय ।।

शब्दार्थ : पोथी (पुस्तक) जग ( संसार ) मुवा (मरे) ढाई (अढाई) पंडित (विद्वान)

(अर्थात, यो संसारमा भारी-भारी किताप पढेर धेरैले डिग्री त लिए र मरेर पनि गए तर विद्वान हुन सकेनन । भन्नुको तात्पर्य जस्ले “ प्रेम “ भन्ने
अढाई शब्दको महिमा र गुढ अर्थ बुझ्न सक्छ, त्यसले मात्रै संसार चिन्छ, आँफू आनन्दित हुन्छ र अरूलाई पनि प्रेमभाव र स्नेहले सिंचित गर्न सक्छ । ( प्रा. डा. दुर्गा दाहाल अंग्रेज़ी साहित्यका प्राध्यापक र अनुसन्धाता हुनुहुन्छ )