अनुसन्धान भन्छ – महिला भन्दा पुरुषको मस्तिष्क चाँडै बुढो हुन्छ !

प्रकाशित मिति:

एजेन्सी –  मस्तिष्कको क्षमतामा महिलाहरु पुरुषभन्दा धेरै अगाडि रहेको एक अनुसन्धानमा पत्ता लगाइएको छ । यसरी औसतमा पुरुषहरुको दिमाग महिलाभन्दा झन्डै चार वर्ष अगाडि नै बुढो हुने गरेको बताइएको छ । जसका कारण बुढेसकालमासमेत महिलाहरु पुरुषको तुलनामा बढी तिक्ष्ण हुने गरेको बताइएको छ ।

अनुसन्धानकर्ताहरुले २० देखि ८२ वर्षसम्मका व्यक्तिको मस्तिष्क स्क्यान गरि यस्तो तथ्य पत्ता लगाएका हुन् जसमा महिलाको मस्तिष्कको उमेर जैविक रुपले पुरुष भन्दा ३.८ वर्ष कम रहेको पाइएको हो । उक्त नतिजा मस्तिष्कले गर्ने ग्लुकोजको प्रयोगमा आधारित रहेको छ । जसबाट प्राप्त हुने ऊर्जाले दिमागको प्रदर्शनमा प्रभाव पार्दछ । यसका साथै महिला र पुरुषको दिमागले काम गर्ने आन्तरिक तरिका पनि फरक रहेको पत्ता लगाइएको हो ।

पुरुषहरुको भाषिक क्षमता र स्मरण शक्ति महिलाको तुलनामा चाँडै कम हुँदै जाने गरेको स्पष्ट भएको छ । यता महिलाहरुको कम उमेरको मस्तिष्कले भने उनीहरुलाई तुलनात्मक रुपमा लामो समयसम्म बिर्सने लगायतका रोगबाट बचाइराख्न सक्ने बताइएको छ ।
सेन्ट लुइस स्थित वासिङटन युनिभर्सिटी स्कुल अफ मेडिसिनका डाक्टर मानु गोयालका अनुसार यस अनुसन्धानपछि मस्तिष्कको बूढो हुने प्रक्रियामा लिङ्गको भूमिकाबारे धेरै कुरा थाहा भएको हो । त्यसैगरी मस्तिष्क सम्बन्धी रोग लाग्ने सम्भावना पनि यो तथ्यसँग सम्बन्धित हुन सक्ने उनले बताए । यसरी दिमागले काम गर्ने जैविक प्रक्रियाले हामीलाई उमेर ढल्दै गएपछि पुरुष र महिलाको मस्तिष्कमा कस्तो भिन्नता हुन्छ भन्नेबारे बुझ्न मद्दत गरिरहेको वैज्ञानिकहरुको भनाइ छ ।

यसमा उनीहरुले २०५ जनाको वास्तविक उमेर र तिनको मस्तिष्कको उमेर तुलना गरेका थिए । वास्तवमा हाम्रो उमेर बढेसँगै मस्तिष्कले ऊर्जा उत्पादन गर्न कम ग्लुकोज प्रयोग गर्न थाल्छ जसपछि दैनिकका मानसिक चुनौती पूरा गर्न कठिन हुँदै जान्छ । यस्तोमा कम्प्युटर अल्गोरिदमले बढी उमेरका महिलालेसमेत दिमागी विकासका लागि धेरै मात्रामा ग्लुकोजको प्रयोग गर्ने गरेको पाइएको हो । जसपछि उनीहरुको मस्तिष्क अझै जवान अवस्थामै रहेको पत्ता लागेको हो । यसरी सबैभन्दा कम उमेरका महिलासँग तुलना गर्दासमेत नतिजामा धेरै भिन्नता देखा नपरेको नेस्नल एकेडेमी अफ साइसेजका अनुसन्धानकर्ताले बताएका हुन् ।

डाक्टर गोयालले भने, ‘वास्तवमा पुरुषहरु महिलाभन्दा तीन वर्षपछि मात्र किशोरावस्थामा प्रवेश गर्दछन् र सो क्रम जीवनभर निरन्तर रहन्छ । त्यसकारण यो पक्षले पनि दिमागी विकासमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।’ तरपनि अझै यसको प्रमुख कारणबारे स्पष्ट जानकारी प्राप्त नभएको हुँदा थप अनुसन्धान गरिरहेको गोयालले बताएका छन् । अहिले भने वैज्ञानिकहरुले दिमागी विकासबारे थप तथ्य हासिल गर्न एउटा उमेर समूहको नियमित अध्ययन गरिरहेका छन् ।