संसदमा आज मन्त्रीले सांसदको प्रश्नको सामना गर्ने, सबैभन्दा धेरै प्रश्न गृहमन्त्रीलाई

प्रकाशित मिति:

काठमाडौं –  गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा सांसदहरूको प्रश्नको सामना गर्ने भएका छन् । प्रतिनिधिसभाले आज गृहमन्त्री थापासँगको प्रश्नोत्तर कार्यसूचीमा राखेको छ । कांग्रेस सांसद डिला संग्रौलाले ‘निर्मला पन्तको हत्यारा पक्राउ नपरेको’ विषयमा मौखिक प्रश्न दर्ता गराएकी थिइन् । सोही प्रश्नमाथि थापाले जवाफ दिन लागेका हुन् । तर सम्बन्धित विषयमा सांसदहरूले पुरक प्रश्न सोध्न पाउने व्यवस्था प्रतिनिधिसभा नियमावलीले गरेको छ । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा पनि सांसदहरूले गृहमन्त्रीलाई पुरक प्रश्न सोध्न पाउनेछन् ।

थापाले ती प्रश्नमाथि जवाफ दिनेछन् । संसद सचिवालयले बुधबार गृहमन्त्रीसँगै अर्थ, वन र महिला तथा बालबालिका मन्त्रालयका विषयमा सांसदहरूले दर्ता गराएको प्रश्नमाथि जवाफ दिने कार्यक्रम राखेको छ ।

गृहमन्त्रालयसँग सम्बन्धित चार विषयमा मन्त्री थापाले बुधबार जवाफ दिन लागेका हुन् । भक्तपुरमा एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरिएको विषयमा प्रहरीले गरेको इकाउन्टरका विषयमा समेत थापाले संसदमा जवाफ दिँदैछन् । कांग्रेस सांसद देवेन्द्र कँडेलले उक्त विषयमा प्रश्न दर्ता गराएका थिए ।
प्रहरी इकाउन्टरमा भक्तपुरको सूर्यविनायक जंगलमा अजय र गोपाल तामाङको मृत्यु भएको थियो । स्थानीयवासीले प्रहरीले दुवैलाई कोठाबाट जंगलमा पुर्याएर हत्या गरेको बताएपछि इकाउन्टर फेक भएको भन्दै प्रश्न उठेको थियो ।
गृह मन्त्रीले ‘फेक इकाउन्टर’ नगरिएको दाबी गर्दै आएका छन् ।

त्यस्तै, गृह मन्त्रालयसँग सम्बन्धित अन्य दुई प्रश्नमा पनि थापाले जवाफ दिँदैछन् । अछामको मंगलसेनका नमराज विष्टको हत्यारा पक्राउ नपरेको विषय र मोरङ लेटाङको खानेपानी ट्याङ्कीमा विषादी मिसाइएको घटनाको अनुसन्धानका विषयमा समेत थापाले संसदमा जवाफ दिन लागेका हुन् ।

त्यस्तै, अर्थमन्त्री युवराज खतिवडाले नेपालका बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना कर्मचारी र डिलरलाई विदेश भ्रमणमा पठाउँदा विदेशी मुद्रा बाहिरएको भन्दै रोक्न भैरहेको पहलबारे जवाफ दिँदैछन् । कांग्रेस सांसद डिला संग्रौलाले जवाफ माग्दै प्रश्न दर्ता गराएकी थिइन् ।
त्यस्तै, कांग्रेसका दिलेन्द्र बडुले स्थानीय तहमा बैंकको शाखा नपुगेको विषयमा प्रश्न दर्ता गराएका थिए । खतिवडाले त्यसमाथि पनि जवाफ दिनेछन् । वन मन्त्रालयलाई भने नेकपाका सांसद खगराज अधिकारीले पोखरामा प्राणी उद्यान बनाउने योजनाबारे प्रश्न दर्ता गराएका थिए । प्रश्नमा वन मन्त्री शक्ति बस्नेतले जवाफ दिनेछन् ।

सांसद सरिता न्यौपानेले हिंसा पीडित महिलाका लागि सातै प्रदेशमा आवास निर्माणको प्रगति माग्दै प्रश्न दर्ता गराएकी थिइन् । जसमा महिला तथा बालबालिका मन्त्री थममाया थापाले जवाफ दिनेछिन् । संसद सचिवालयले प्रतिनिधिसभामा नियमित प्रश्नोत्तर गराउने तयारी गरिरहेको छ । तर मन्त्रालयका मन्त्रीहरूले समय नमिलेको भन्दै प्रश्नोत्तर टार्ने प्रयास गर्दै आएका छन् ।

हालसम्म संसद सचिवालयमा ८८ वटा मौखिक प्रश्न दर्ता भएका छन् । जसमा मन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्नेछ । त्यस्तै, सचिवालयमा हालसम्म २८ वटा लिखित प्रश्न दर्ता छन् । सबभन्दा धेरै लिखित प्रश्न सांसद प्रेम सुवालको छ । उनले विभिन्न मन्त्रालयसँग सम्बन्धित १६ प्रश्र दर्ता गराएका छन् । २०४८ र २०५१ को संसदमा प्रश्नोत्तरको व्यवस्था हुने गरेको थियो । तर संविधानसभाको अवधिभर संसदमा प्रश्नोत्तर भएन । नयाँ निर्वाचनपछि पुनःसंसदमा प्रश्नोत्तर सुरू गरिएको हो । संसद बैठक बुधबार १ बजे बस्दैछ ।