१५औं पञ्चवर्षीय योजनाका निम्ति प्रदेशगत छलफल

प्रकाशित मिति:

विराटनगर – १५औं पञ्चवर्षीय योजनाको तयारीका लागि विराटनगरमा आयोजित प्रदेशस्तरीय परामर्श बैठकमा आधार–पत्रको प्रारम्भिक मस्यौदा प्रस्तुत गरिएको छ। मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा राष्ट्रिय योजना आयोगले आगामी १५औं योजनाको आधारपत्रमाथि छलफल चलाएको हो।

योजना आयोगका निर्देशक सुमनराज अर्यालले आधारपत्र प्रस्तुतिका क्रममा १५औं योजनालाई नेपालको दीर्घकालीन सोचसहितको योजना भएको बताउनुभयो। उहाँले ६ दशकको योजनाबद्ध विकासको उपलब्धि र सिकाईका रूपमा आगामी पञ्चवर्षीय योजना तयार हुने बताउनुभयो। १५औंं योजनाले नेपाललाई सन् २०२२ सम्ममा विकासोन्मुख देशमा पु¥याउने र सन् २०३० अगावै दिगो विकास लक्ष्य हाँसिल गरी मध्यम आय भएको देशमा पुग्ने प्रतिबद्धता लिएको छ। समृद्धि र सुखको आधार सिर्जना गर्ने योजनाको रूपमा रहने र समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिष्कृत जीवनसहितको समाजवाद उन्मुख लोककल्याणकारी राज्य स्थापना गर्ने राष्ट्रिय लक्ष्य राखिएको जनाइएको छ।

कार्यक्रममा प्रदेश नम्बर १ योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेशको समेत योजना तर्जुमाको प्रक्रिया अघि बढाइएको बताउनुभयो। उहाँले मुख्यमन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिले प्राथमिकताका १४ बुँदा पास गरिसकेको जानकारी दिनुभयो। प्रदेशले बनाउने योजनामा अधिकतम् रोजगारीको सिर्जना र विकासमा आधारित अनुसन्धानलाई पहिलो प्राथमिकतामा राखिएको प्याकुरेलले बताउनुभयो।