कपिलवस्तु उद्योग वाणिज्य संघको सार्वजनिक सरसफाई अभियान सम्पन्न

प्रकाशित मिति:

पछिल्लो समय विभिन्न सभा, समारोह, वैठक तथा सार्वजनिक कार्यक्रम समयमै संचालन हुनु चुनौतीपूर्ण बन्दै गएको छ । समय व्यवस्थापनको हेलचक्रयाईमा अभ्यस्त नेपालीहरु तोकिएको समयमा कार्यक्रम हुन्छ भन्नेमा अधिकांश विश्वस्त हुदैनन् । कपिलवस्तुमा त झन् तोकिएको समय भन्दा झण्डै २ घण्टा ढिलो कार्यक्रम शुरु हुने परम्परा नै बसिसकेको छ । गलत अभ्यासमा रुमलिएकालाई समयको पावन्दीमा रहेर कार्यक्रम शुरु गरेर समापन गर्नु सकसपूर्ण बन्दै गएको छ । तर यस्तो गलत अभ्यासको अन्त्यका लागि समयको महत्वलाई बुझाउन कपिलवस्तु उद्योग वाणिज्य संघको प्रयास र प्रयोग अझसम्म उदाहरणीय बनेको छ । मंगलबार विहान ७ बजेका लागि तोकिएको चारनम्बर बजार सरसफाई अभियान समयमै शुरुवात गरेर उदाहरण प्रस्तुत गरेको छ । कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल सहित केही पदाधिकारी, सदस्य तथा स्थानीय जुटेपछि सरसफाई अभियान ठीक ७ बजे शुरु गरियो ।

प्रमुख अतिथी लगाएत, संघका केही पदाधिकारी, सदस्य कुनै व्यक्तित्वलाई नपर्खी सार्वजनिक कार्यक्रम सरसफाई अभियान ७ बजे नै शुरु गरेर गतिलो उदाहरण दिएको कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई बताउछन् । सरसफाई अभियान शुरु भएको केहीपछि क्रमश प्रमुख अतिथी, जनप्रतिनिधी, संघका पदाधिकारी, सदस्य तथा स्थानीयको उपस्थिती क्रमश बढ्दै गयो र सरसफाई अभियानमा जोडिदै गए । कपिलवस्तु उद्योग वाणिज्य संघले हरेक महिना आफनो कार्यक्षेत्र लगाएत विभिन्न ठाउँमा सरसफाई अभियान संचालन गर्ने जनाएको छ । चारनम्बर जीतपुरमा आयोजित सरसफाई अभियानलाई संघले नगरका अन्यक्षेत्रमा निरन्तरता दिने सचिव मनोज पौडेलले बताए ।

संघले मंगलबार विहान १ घण्टा आयोजना गरेको सरसफाई अभियान चानरम्बर चोकदेखि पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर एक एक सय मिटर सरसफाई गरेको हो । सरसफाई अभियान कार्यक्रममा जनप्रतिनिधी, स्थानीय संघ संस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीयबासी तथा व्यापारीहरुको सहभागीता रहेको थियो । सरसफाई अभियानमा स्थानीय व्यापारी तथा घरधनीको सहभागीता न्यून भएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए । चारनम्बर बजार मुख्य व्यापारिक केन्द्र भएकाले यसको स्वच्छता र सुन्दरता बनाउन सवैले आ आफनो ठाउबाट सकृय हुनुपर्ने बताए ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले मेरो नगर म सफा गर्दछु भन्ने नितिलाई सवैले अवलम्बन गर्नुपर्नेमा जोड दिए । नगर प्रमुख थारुले नगरपालिकाले कोठीदेखि कोइलीसम्म र चारनम्बरदेखि ओदारी सम्म नियमित सरसफाई गर्ने निती लिएको बताउदै आगामी दिनमा सरसफाईको ठोस कार्यक्रम ल्याउने बताए । कार्यक्रममा भुपु सैनिक खानेपानी तथा सरसफाई समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले संघले गरेको सरसफाई कार्यक्रममा स्थानीय संघसस्थाले निरन्तरता दिनुपर्ने बताए ।