नेपालमा पाठेघरको मुखको क्यान्सर रोगीको संख्या बढ्दो

प्रकाशित मिति:

विश्वमा हरेक वर्ष पाँच लाख महिलामा पाठेघरको मुखको क्यान्सर हुन्छ । तीमध्ये दुई लाखको त मृत्यु नै हुन्छ । साधारणतया ४० वर्षपछि देखापर्ने यो रोग नेपालमा भने ३० वर्षभन्दा कम उमेरका महिलामा पनि हुने गरेको चिकित्सक बताउछन् ।बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा गत बर्ष आउने बिरामीमध्ये २० देखि २५ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामी थिए । कलिलो उमेरमै विवाह गर्नु, धेरै जनासँग यौन सम्पर्क राख्नु, धुमपान गर्नु, पाठेघरको मुखमा पापिलोमा भाइरसको संक्रमण हुनुले यो रोग निम्त्याउँछ  क्यान्सर हुनुपूर्व नै पत्ता लगाउन सकिने भए पनि जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सर पीडित महिलाको संख्या बढिरहेको बिशेषज्ञको भनाइ छ ।

ह्युमन प्यापिलोमा भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ । समयमै संक्रमण पत्ता लगाउन नसके आठ दश वर्षपछि यो क्यान्सरमा परिणत हुन्छ ।यौनसम्पर्क गर्दा रगत देखिए, महिनावारी नभए पनि रगत आए, सानो पेट र ढाड दुख्ने, थकाइ बढी लाग्ने, लामो समयसम्म खोकी निको नहुने, स्वर परिवर्तन हुने, तौल घट्दै जानेजस्ता लक्षण देखिएपछि पाठेघरको मुखको क्यान्सर हुन सक्छ । यीमध्ये कुनै लक्षण देखिएमा तुरुन्त चिकित्सकको परामर्श गर्नुपर्छ । पाठेघरको मुखको क्यान्सर सुरुको अवस्थामा पत्ता लागे शतप्रतिशत निको पार्न सकिने चिकित्सकको भनाइ छ ।