जमिन बांझो राखे अब ३ लाख जरिवाना

प्रकाशित मिति:

जमिन बाँझो राख्नेलाई अबदेखि ३ लाख रुपैयाँसम्मको जरीवाना हुने भएको छ । प्रतिनिधिसभामा पेश भएको  भू उपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए जमिन बाँझो राखे कसुर गरेको मानिने र उसलाई ३ लाखसम्म जरिवाना गराइने व्यवस्था छ ।प्रतिनिधिसभाको बुधबार बसेको बैठकले भू उपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित समेत गरेको छ ।विधेयकको दफा २२ को ख मा काबुबाहिरको परिस्थिति उत्पन्न भइ जग्गा बाँझो राख्नुपर्ने उचित र पर्याप्त कारणसहितको सूचना सम्बन्धित स्थानीय तहमा दिएको अवस्थामा बाहेक कृषिक्षेत्रमा वर्गीकृत जमिनको दुई तिहाइ हिस्सा लगातार ३ वर्षदेखि बाँझो राखेमा जरिवाना गराइने व्यवस्था गरिएको हो ।यस्तै ऐनमा उल्लिखित अवस्थामा बाहेक निर्धारित भू–उपयोग क्षेत्र वर्गीकरण परिवर्तन गरेमा ३ लाख जरीवानाका साथै त्यस्तो जग्गा छ महिनाभित्र साविक बमोजित भू उपयोग कायम गर्नेगरी आदेश दिन सक्ने व्यवस्था राखिएको छ ।यस्तो व्यवस्थाले तराइकाभन्दा पहाडी क्षेत्रका बासिन्दा बढी मर्कामा पर्ने सांसद जिपछिरिङ तामाङले बताउनुभयो । प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले जमिन बाँझो राखे जरिवाना होइन कि खेती गरे पुरस्कार दिने प्रावधान विधेयकमा राख्न सुझाव दिनुभयो ।