नेकपाका गुल्मी जिल्ला इन्चार्ज, सेक्रेटरी सहित अभियान टोली गिरफ्तार, लुम्बिनी व्यूरोले दियो कडा चेतावनी 

प्रकाशित मिति:

शिव डुम्रे   माघ २३, लुम्बिनी  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो संगठन विस्तार तथा सुदृढीकरण अभियान संचालन गरिरँहदा बुधबार अर्घाखाँचीको छत्रदेव गाउपालिका ४ केरुङ्गाबाट अभियानकै क्रममा गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य पिताम्बर पोखरेल र टुकलाल पुनलाई प्रहरीले गिरफ्तार गरेको छ ।  पार्टी अभियानको सिलसिलामा संगठन निर्माण तथा विस्तार गर्न पुगेका जिल्ला इन्चार्ज सहितको अभियान टोलीलाई प्रहरीले पक्राउ गरेको हो । देशभर संगठन निर्माणमा तिव्रता दिएको नेकपाले पछिल्लो समय अभियान चलाईरहेको थियो । विनाकारण आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोले एक विज्ञप्ती जारी गर्दै तत्काल नछोडे कडा संघर्षमा जाने चेतावनी दिएको छ । व्यूरो इन्चार्ज वीरजंगद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘गिरफ्तार गरिएका हाम्रो पार्टीका नेता तथा कार्यकर्तालाई तत्काल रिहा गरियोस् । रिहा नगरिए लुम्बिनी व्युरो बन्द सहितको कडा सङ्घर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं । यसबाट निस्कने परिणामको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने यसै प्रेश विज्ञप्ती मार्फत जानकारी गराउँदछौं ।’ केही दिन अगाडीमात्रै सोही पार्टी्निकटको विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको थियो ।