मेलम्ची आयोजनामा सिएमसीसँगको ठेक्का सम्झौता रद्ध

सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटलियन कम्पनी सिएमसीसंगको ठेक्का सम्झौता तोडेको छ

प्रकाशित मिति:

काठमाडौं \ सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटलियन कम्पनी सिएमसीसंगको ठेक्का सम्झौता तोडेको छ । मेलम्ची खानेपानी विकास समितिको आज बसेको बैठकले सिएमसी दि राभेनासंगको ठेक्का सम्झौता रद्ध गर्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिनुभयो । गत डिसेम्बर १५ मा एकतर्फी रुपमा काम छोडेर गएको कम्पनीसंग पटक पटक स्पष्टीकरण सोधिएपनि कुनै जवाफ नआएपछि थप अन्यौलता पैदा हुनसक्ने र सरकारले फिर्ता लिएको बैंक ग्यारेन्टी रकम समेत गुम्न सक्ने जोखिम आउनसक्ने भएकाले सम्झौता रद्ध गरिएको कँडेलले बताउनुभयो । सीएमसीले ठेक्का सम्झौता गर्दा झन्डै साढे दुई अर्ब रुपैयाँ धरौटी राखेको छ । सरकारले गत माघ ६ मा दुई साताभित्र काममा फर्कनसक्ने गरी टर्मिनेसन लेटर सीएमसीलाई पठाएको थियो । अन्तिम म्याद सकिंदासम्म सीएमसीले कुनै प्रत्युत्तर नदिएपछि ठेक्का तोड्ने निर्णय गरेको समितिले जनाएको छ ।