प्रदेश नम्वर ५ को प्रदेश सभाको बैठक बिहिबार सम्पन्न भएको छ ।यसअघि मंगलवारको बैठक प्रमुख प्रतिपक्षीदल नेपाली काग्रेसले अवरुद्ध गरेपनि आजको बैठक भने कुनै अवरोध बिना नै बसेर सकिएको हो ।बैठकमा प्रदेश सभाका सदस्यहरुले यसअघिका बैठकमा उठाएका प्रश्नको जवाफ दिदै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी प्रदेशको शान्तिसुरक्षा मजबुद रहेको बताउनुभयो ।शान्तिसुरक्षासम्बन्धी विषय प्रदेशसभाका सदस्यहरुले बैठकमा उठाएपछि जवाफ दिँदै उहाँले प्रदेशको सुरक्षामा सरकार गम्भीर रहेको धारणा राख्नुभयो ।
बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा छलफलका लागि पेश गर्नुभयो ।यस अघि बैठकको विशेष समयमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले प्रतिपक्ष नेपाली कांग्रेस जिम्मेवार हुनु पर्ने भन्दै दसभाको मर्यादामा आँच आउने काम गर्न नहुने बताउनु भयो ।
प्रदेश राजधानीको टुङ्गो लगाउन बनेको विशेष समितिमा प्रतिनिधित्व नभएका जिल्लाबाट सदस्य थप गर्ने चलखेल भएको भन्दै प्रतिपक्षी दल काङ्ग्रेसका सदस्यहरुले बैठकमा विरोध गरेका थिए । बैठकमा प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले सहमतिमा अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । उहाँले बहुमतमा सरकार बनाए पनि सहमतीमा सरकार चलाउनु पर्ने सुझाव दिनु भयो ।