बिहानैदेखि देशभरिकै मौसम बदली

प्रकाशित मिति:

बिहानैदेखि देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार देशका धेरै ठाउँमा वर्षा र हिमपात भएकोछ । मध्य र पश्चिममा केही ठाउँमा भने ठूलो पानी पर्नुका साथै भारी हिमपात भएकोछ । यसकै प्रभावले हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात र हिम पहिरो जाने खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

बाढी पूर्वानुमान शाखाले सूचना निकालेर उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो वर्षा हुन सक्ने भएकाले हिमपहिरो र पहिरो जानसक्ने भन्दै ती क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो । शनिबारसम्म देशभरका धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले केहि दिन पदयात्रामा ननिस्कन मौसमविद्ले सुझाव दिएका हुन् । मौसमविद् रिमालका अनुसार अस्तिदेखि नै बदली गराएको पश्चिमी वायु आइतबारदेखिमात्र सुधार हुने देखिएको छ ।