मलेसियामा महिला सहकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा नेपाली युवकलाई जरिबाना

प्रकाशित मिति:

काठमाण्डौ – मलेसियामा सँगै काम गर्ने महिला सहकर्मीलाई दुव्र्यवहार गरेको आरोपमा एक नेपालीलाई ४ हजार रिंगिट जरिबाना वा ५ महिना जेल बस्नुपर्ने सजाय सुनाइएको छ ।मलेसियाको तमान मयङ केलाङजयामा रहेको केक फ्याक्ट्रीमा काम गर्ने प्रताप थोकरले महिला सहकर्मीको भित्री बस्त्र ‘ब्रा’ को फिता तानेको भन्दै त्यहाँको अदालतले ४ हजार रिंगिट जरिबाना वा ५ महिना जेल बस्नुपर्ने फैसला सुनाएको हो ।

कम्पनीमा काम गर्ने क्रममा प्रतापले मलेसियाकै नागरिक रहेकी सहकर्मी महिलालाई बोलाएका थिए । धेरै पटक बोलाउँदा पनि ती महिला सहकर्मीले वास्ता नगरेपछि प्रतापले उनको‘ब्रा’ को फिता तानेको बर्नामाको खबरलाई उल्लेख गर्दै मलेसियाको अनलाइन द स्टारले लेखेको छ ।ती महिलाले प्रतापविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । ती महिलाको पक्षबाट वकालत गर्दै आलिया सुमाया अमरानले प्रतापले महिला सहकर्मीमाथि यस्तो व्यवहार गरेर कम्पनीको काम गर्ने वातावरण खलबलाएको भन्दै हदैसम्मको सजाय माग गरेकी थिइन् ।

मलेसियाको कानुनको दफा ५०९ का अनुसार यस्तो कसुरलाई गर्नेलाई बढीमा पाँच वर्षको जेल, जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । महिलाको पक्षमा आलिया सुमाया अमरानले वकालत गरे पनि प्रतापको पक्षबाट वकालत गर्ने कोही नभएकाले उनले आफैं आफ्नो बचाउ गरेका थिए ।उनले आफूले पटक पटक बोलाउँदा पनि वास्ता नगरेपछि ध्यान आफूतिर खिच्न मात्रै त्यस्तो गरेको बताएका छन् । उनले जरिबाना तिरे, नतिरेको भने खबरमा उल्लेख छैन ।